म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा (तस्बिर सहित)

  • २८ असार २०८०, बिहीबार
  • कमल खत्री
  • 425 पटक पढिएको

बेनी, २८ असार । म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चिताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको हो । १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
जिल्लामा सबै घरधुरी सर्वेक्षण गरेर १५ महिना मुनीका १ हजार ७१२ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ बर्ष मुनिका कुल ४ हजार ४२१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिता भएपछि म्याग्दी पूर्ण खोपको दिगोपना कायम राख्न सफल भएको जिल्ला खोप समन्वय समितिका सचिब समेत रहनुभएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । तत्कालिन सबै गाविसहरु पूर्ण खोप सुनिश्चिता भएपछि २०७१ चैत १५ गते म्याग्दीलाई मुलुककै छैठौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको थियो ।
जिल्ला खोप समन्वय समितिले विहिवार बेनीमा आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मा लगायतले पूर्णखोप सुनिश्चिता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले विभिन्न रोग निवारणको लागि सरकारले खोपमा ठूलो लगानी गरेको बताउँदै हरेक बालबालिकाहरुलाई खोपको सुनिश्चिता गर्न स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘‘गण्डकी प्रदेश सरकारले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, स्वस्थ जनशक्ति भएमा मात्रै देश समृद्ध र विकसित हुन सम्भव छ, ’’–उहाँले भन्नुभयो । मन्त्री जुग्जालीले स्वास्थ्य क्षेत्रमा हुने तालिम, गोष्ठि र सेमिनारहरुलाई व्यवहारिक बनाउनुपर्ने र आबश्यकता भन्दा बाहिर गएर फजुल खर्च गर्ने परम्परागत शैलिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको मेहनतले सबै बालबालिकाहरुले खोप पाउने अवसरको सुनिश्चिता भएको बताउँदै खोप केन्द्रहरुमा भवन लगायतका पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेल, नेपाली काँग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख रामबहादुर नेपाली, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले बालबालिकाहरुमा खोपको सुनिश्चिता गराउन स्वास्थ्यकर्मीको योगदान र भूमिकाको चर्चा गर्नुभएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका जिसस प्रमुख थापाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोखरेलले स्वागत र स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।        

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l