पहिरोले लघुजलविद्यूत अवरुद्ध हुँदा लुलाङको सिंगो वडा अन्धकार

  • २८ असार २०८०, बिहीबार
  • 363 पटक पढिएको

बेनी, २८ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँ नै अन्धकार भएको छ । विहिवार विहान करिब १० बजे मरेनी स्थित विद्युतगृहदेखि माथिको भिरबाट खसेको पहिरोले विद्युतगृहमा पूर्ण रुपमा क्षति भएको छ ।
विद्युतगृहको महत्वपूर्ण उपकरणहरु पहिरोले पुरिएर क्षति भएको वडा अध्यक्ष अकप्रसाद विकले बताउनुभयो । उहाँका अनुसार, कतिपय उपकरणहरु पहिरोले दरमखोलाको बगरसम्म नै पु¥याएको छ भने मुख्य पाईपलाईनमा समेत क्षति भएको छ । विद्युत आपूर्ति बन्द भएपछि सिंगा वडा नम्बर २ विद्युत सुविधाबाट बञ्चित भएका छन् । विद्युत नहुँदा गाउँमा रातमा बत्ति बाल्नको साथै मोवाईल चार्ज गर्न र घरेलु उद्योग सञ्चालन गर्न समेत पूर्ण रुपमा बन्द भएको स्थानीय युवा भक्त सिंकिजा पुनले जानकारी दिनुभयो । यस परियोजनाबाट उत्पादन भएको विद्युत वडा नम्बर २ को लुलाङ, लमसुङ र खोरियाका किरब ४ सय घरधुरीले उपभोग गर्दै आएका थिए ।
दुईवर्ष अघि बाढीले परियोजनाको नहर, बाँध र विद्युतगृह बगाएपछि गत बर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युतगृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याईएको थियो । लाखौँ खर्च गरेर मर्मत गरि सञ्चालनमा ल्याएको परियोजनाको विद्युतगृह नै एक बर्षमा नै पुनः पहिरोले क्षति पु¥याएपछि स्थानीयबासीले परियोजनाको मर्मत सुधार संगै केन्द्रिय विद्युतिकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन् । परियोजना पुननिर्मााण गर्न दुई बर्ष अघि गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत रु १० लाख गरी कुल रु २२ लाख लगानीमा परियोजना पुननिर्माण गरिएको थियो ।
२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार,जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त रु ५ लाख ३ हजार गरी एक करोड ७४ लाख लागतमा परियोजना निर्माण गरिएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुननिर्माण गरिएको थियो ।