महतारेमा आमा समूहको अगुवाईमा ढिकी,जाँतोको संरक्षण

  • २५ असार २०८०, सोमबार
  • 791 पटक पढिएको

कमल खत्री
बेनी, २५ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ्ग स्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागत रुपमा कुटानी र पिसानीको लागी प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो ।
विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भएपनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानी पिसानीका साधनलाई संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
‘‘घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानी पिसानी गर्ने प्रचलन छ, पुजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानी पिसानी गछौँ, परम्परागत जीवनशैलिबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ’’–उहाँले भन्नुभयो ।
आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको सहयोगमा भवन संगै खेलमैदान समेत निर्माण गरेका छन् । खेलमैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकाहरुलाई खेल खेल्नका लागि सहज भएको छ ।
गण्डकी प्रदेश सरकार मार्फत भौतिक पूर्वाधार विकास कार्यालय मार्फत रु ४लाख ५० हजार र गाउँपालिका मार्फत ५ लाख ३४ हजार बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माण संगै घेरावार समेत निर्माण गरेका छन् । नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।
भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिब राधिका खत्रीले जानकारी दिनुभयो । भवन, खेलमैदान र घेरावार गर्न आमा समूहले समेत नगद रु करिब ५० हजार लगानी गरेका छन भने जनश्रमदान समेत गरेका छन् ।