कृषकलाई अनुदानमा कृषि प्रविधि वितरण

  • १३ असार २०८०, बुधबार
  • धिरन खत्री
  • 325 पटक पढिएको

 

म्याग्दी, १३ असार । अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषकलाई र समूहलाई अनुदानमा हाते ट्याक्टर र सुन्तला टिप्ने भ¥याङ लगायतका प्रविधिहरु वितरण गरेको छ। बुधबार पालिकाले पोखरेबगरमा ब्यवसायीक रुपमा कृषि खेती गर्दै कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा अघि बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा प्रविधिहरु वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।


पालिकाभित्रका अगुवा कृषक, कृषक समुह र कृषकलाई १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, ९ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो ।

उहाँले चालू आर्थिक बर्षको ११ लाख ९८ हजार ५ सय बजेटमार्फत कृषकका मागअनुसारका छिटोछरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो ।


सो प्रविधिहरु गाउँपालिका अध्यक्ष भारतकुमार पुन (भरत), प्रमुख प्रशासकिय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई वितरण गर्नुभएको थियो । अध्यक्ष पुनले किसानलाई कृषि पेसाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर लगायतको मेशिनहरु वितरण गरिएको बताउनुभयो ।

कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर करिव १ करोड विनियोजन गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l