म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख बजेट

  • १६ जेष्ठ २०८०, मंगलवार
  • धिरन खत्री
  • 550 पटक पढिएको

 

बेनी, १६ जेठ । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् ।

अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शिर्षकबाट सो बजेट अनुदान उपलब्ध गराएको हो । पालिकातर्फ आएको कुल बजेटमा चालुतर्फ १ अर्ब ८४ लाख ६७ हजार रुपैयाँ बजेट रहेको छ भने पुँजीगततर्फ २७ करोड ९५ लाख बजेट रहेको छ ।


संघीय सरकारले हिमाली जिल्ला म्याग्दी अन्तरगत रहेको बेनी नगरपालिकालाई ५० करोड ७४ लाख, अन्नपूर्ण गाउँपालिकालाई ३४ करोड ८३ लाख, धवलागिरी गाउँपालिकालाई ३१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी मंगला गाउँपालिकालाई ३३ करोड ४८ लाख, मालिका गाउँपालिकालाई ३१ करोड ६६ लाख र रघुगंगा गाउँपालिकालाई ३० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
अघिल्लो आर्थिक बर्ष भन्दा बेनी नगर, मालिका र रघुगंगामा बजेट घटेको छ भने अन्नपूर्ण, धवलागिरी र मंगलामा बजेट बढेको छ।
म्याग्दीमा २०७९/८०मा २ अर्ब ११ करोड ६१ लाख, २०७८/७९ मा २ अर्ब ६९ लाख र २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैया बजेट संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई विनियोजन गरेको देखिन्छ । विकास बजेट राम्रोसंग कार्यान्वयन गर्न नसक्दा पालिकाले प्राप्त गर्ने अनुदान बढ्न सकेको छैन् ।

स्थानीय तहको बजेट जनप्रतिनिधि र कर्मचारीको तलव र सेवासुविधामात्र देखिन्छ । जनताको माग अनुसार काम गर्ने पुँजीगततर्फ न्यून बजेट रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l