धौलागिरिको किर्तिमानी आरोहण गर्ने ८४ बर्षिया कार्लोसको सपना अधुरै

  • ४ जेष्ठ २०८०, बिहीबार
  • 311 पटक पढिएको

कमल खत्री
म्याग्दी ४ जेठ । स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरियाले म्याग्दीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालको किर्तिमानी आरोहण गर्ने सपना अधुरो भएको छ । उमेरले ८४ बर्ष पुगेका कार्लोस म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि गत चैत अन्तिम साता सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आधार शिविर पुगेका थिए ।
प्रतिकुल मौसमका कारण आधार शिविरमा लामो समय विताएका कार्लोस मौसममा सुधार आएसँगै ७ हजार दुई सय मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुग्न सफल भएका थिए । तेस्रो क्याम्पदेखि धौलागिरिको चुचुरोतर्फ उक्लने क्रममा ७ हजार ७ सय मिटर उचाईमा लडेर दुर्घटनामा परेपछि कार्लोसको खुट्टा मर्किएपछि उनको आरोहण स्थगीत भएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिए ।

आरोहण दलका शेर्पा र सहयोगीहरु मार्फत कार्लोसलाई वेसक्याम्पसम्म ल्याएर त्यहाँबाट हेलिकप्टर मार्फत विहिवार काठमाण्डौ लगिएको छ । कार्लोसको आधारिक फेसवुक पेज मार्फत अहिले उनको मर्किएको खुट्टाको काठमाण्डौमा उपचार गराउन थालिएको जानकारी दिइएको छ । धौलागिरिको कीर्तिमानी आरोहणको लागि कार्लोसले यो संगै १२ औँ पटक अनवरत प्रयास गरेका हुन् । सबैभन्दा बृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पुरा नभएपनि कार्लोस अथक प्रयासमा छन् । यस पटक उनको आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गरेका थिए ।

गत बर्ष समेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्प सम्म पुगेर प्रतिकुल मौसमका कारण आरोहण स्थगित गरेर कार्लोस फर्किएका थिए । ६० बर्ष उमेर पुगेपछि ८ हजार मिटर भन्दा अग्ला १० हिमाल आरोहण गर्ने एक मात्रै आरोही बनेका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउने लक्ष्य राखेका छन् । कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गरेका थिए । सबैभन्दा बृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । यस सिजनमा धौलागिरि हिमाल आरोहणका लागि २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।