बगर तातोपानी कुण्डमा पूर्वाधार अभाब
- ४ जेष्ठ २०८०, बिहीबार
- 555 पटक पढिएको
कमल खत्री
बेनी, ४ जेठ । चक्रिय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाब भएको छ । म्याग्दी नदीको किनार नजीकै प्राकृतिक रुपमा बग्ने तातोपानीको मुललाई संकलन गरिएको कुण्डमा स्नान गरि उपचार गराउन आउनेहरुको सख्ंया बढ्दै गएको र कुण्ड परिसरमा पूर्वाधारको अभाब भएपछि स्थानीय समस्यामा परेका छन् ।
धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग अन्तरगत गर्ने अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजीकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटकहरु समेत पुग्ने गरेका छन् । कुण्डमा स्नान गरेमा नशा, हाडजोर्नी र छाला सम्बन्धि विभिन्न रोगहरु निको हुने भएकाले सर्वसाधारणको आगमन समेत बढेको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गत पुसदेखि यता कुण्डमा २२० जना बढीले नियमित स्नान गरि विभिन्न रोगको उपचार गराएका छन् । बगर र जेल्टुङ गाउँका स्थानीय ४० जना र अन्य १८० जना गाउँ बाहिरका सर्वसाधारण कुण्डमा पुगेर स्नान गरि उपचार गराएका हुन् । पछिल्लो समय कुण्डको प्रचार प्रसारले स्नान गरि उपचार गराउन आउनेहरुको सख्ंया बढ्दै गएपनि पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जाने पुलको अभाबले सर्वसाधारणलाई सास्ती र जोखिमपूर्ण आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ ।
कुण्डमा आवत जावत गर्न झोलुङ्गे पुल नहुँदा नदीमाथि अस्थायी साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका सचिब आस्मन पुर्जाले बताउनुभयो । पुल निर्माणको लागि पटक पटक विभिन्न निकायमा माग पेश गरेको भएपनि सुनुवाई नभएको उहाँको गुनासो छ । ‘‘पर्यटकहरुको लागि समेत आकर्षणको रुपमा रहेको तातोपानीमा सहज रुपमा आवत जावत गर्ने सुविधा छैन, नियमित रुपमा उपचारका लागि स्नान गर्न आउने विरामीहरुलाई समेत बसोबासको लागि पूर्वाधार बन्न सकेको छैन’’–पुर्जाले भन्नुभयो ।
केही बर्ष अघि धवलागिरि गाउँपालिकाले पर्यटक र विरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थल भवनको पूर्वाधार समेत पहिरोले क्षति पु¥याएपछि अहिले यस कुण्डमा नियमित रुपमा स्नान गर्नेहरु त्रिपाल टाँगेर बस्ने गरेका छन् । यस कुण्डमा लामो समय स्नान गर्नेहरुबाट प्रतिव्यक्ति रु २०० शुल्क लिने गरिएको छ । उक्त रकमलाई कुण्डको वारपार गर्न हरेक बर्ष साँघु निर्माण गर्ने लगायतका कार्यमा परिचालन गरिँदै आइएको छ ।
यस कुण्डमा रोगहरु निको हुने विश्वासले मुदी,मुना,ताकम,मराङ, देविस्थान लगायतका गाउँहरुबाट सर्वसाधरणहरु स्नान गर्न पुग्ने गर्दछन् । सुविधाजनक पूर्वाधार नहुँदा समेत उपचारका लागि आउनेहरुको सख्ंया बढेपछि यहाँका स्थानीयले पूर्वाधार निर्माणमा जनप्रतनिधिको ध्यानकर्षण गराएका छन् । गाउँपालिका र अन्य निकायमा पटक पटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा जानकारी गराएपनि उचित सम्बोधन नभएको स्थानीयबासीको गुनासो छ ।
मुदी गाउँ देखि एकदिनको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ । कहालीलाग्दो भिरपहरामा खोपेर निर्माण गरिएको पदमार्ग हुँदै भीरपाखा,खोला,झरना र विभिन्न वन्यजन्तुको अवलोकन गर्दै अन्तिम मानवस्ती बगर पुग्न सकिन्छ । बगर गाउँदेखि करिब तीनघण्टाको पैदल यात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ । धौलागिरि हिमाल आरोहण गर्ने पर्यटकहरुले तातोपानीमा ढुबुल्की मारेर थकान मेटाउने गर्दछन् । कुण्ड सँगै रहेको सुन्दर झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
म्याग्दीमा बेनीनगरपालिका–४ सिंगा तातोपानी, धवलागिरि गाउँपालिका १ गुर्जा तातोपानी, धवलागिरि– ४ मुदी बगर तातोपानी, अन्नपूर्ण गाउँपालिका–१ दोवा तातोपानी, अन्नपूर्ण–२ भुरुङ तातोपानी, अन्नपूर्ण–५ पाउद्धार तातोपानी र अन्नपूर्ण–६ रातोपानीमा प्राकृतिक तातोपानीका मुल छन् । दर्जनबढी स्थानमा तातोपानीका मुल रहेपनि अहिले आठ ठाउँमा व्यवस्थित तातोपानीका कुण्ड बनाएर विभिन्न रोगको उपचार र पर्यटकहरुको थकान मेटाउने कुण्डहरु सञ्चालनमा रहेका छन् ।