पाखापानीमा पशु स्वास्थ्य शिविर

  • २६ चैत्र २०७९, आईतवार
  • 297 पटक पढिएको

 

म्याग्दी, २६ चैत । रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।


४२ गाई, १११ भैसी, २६७ बाख्रा, ५५९ कुखुरा, १०७ गोरु, ३४१ भेडा र ३ वटा कुकुर गरि कुल एक हजार ४३२ पशुपंक्षीको लागि औषधी वितरण गरिएको छ । ८७३ पशु र ५५९ पंक्षीका लागि लक्षण अनुसारको औषधी वितरण गरिएको भेटेरीनरी अस्पतालका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुभयो ।


कृषकहरुले बताएको लक्षणको आधारमा परामर्श र औषधी वितरण गरिएको हो । केही बिरामी पशुको कृषकको गोठमै पुगेर नमुना संकलन गरिएको छ । कृषकहरुलाई पशुको स्वास्थ्य प्रति सचेत बनाउने र ग्रामिण क्षेत्रमै चिकित्सकको उपस्थितिमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । पाखापानी, ठाडाखानी, कमनाथ, रायखोर, कोटगाउँ, कालावाङ, औला, उल्लेरी लगायत बस्तिका कृषकहरुले सेवा लिएका थिए ।


वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले कृषकहरुले पशु, पंक्षीको स्वास्थ्यमा मानिसको जस्तै संवेदनशिल भएर पौष्टिक तत्व, आहरा, औषधी उपचारमा ध्यान दिन सकेमा उत्पादन राम्रो लिन सकिने बताउनुभयो । पाखापानीका भेडापालक कृषक बिरबहादुर पुर्जाले गाउँमै सेवा पाउँदा सदरमुकाम पुग्नुपर्ने समय र खर्चको बचत भएको बताउनुभयो । कृषकहरुले आगामी दिनमा शिविरका क्रममा पर्याप्त औषधीको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

शिविरका अलावा पाखापानी र झिँका अगुवा कृषक, जनप्रतिनिधि, टोल सुधार समितिका पदाधीकारीहरुलाई पशुमा पूर्ण खोप सम्बन्धी वडा स्तरीय अभिमुखीकरण गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप अभियानमा सहभागी हुन आग्रह गरिएको थियो ।