प्रकृतिलाई खुसी बनाउन भुमे पुजाको रौनक
- २२ चैत्र २०७९, बुधबार
- 917 पटक पढिएको
बेनी, २२ चैत । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्तीहरु मौलिक साँस्कृतिक उत्सवमय भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, बाँदुक, वडा नम्बर ७ चिमखोला, अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले लगायतका स्थानमा मंगलवार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक बर्ष चैत महिनाको उजेली मंगलवारका दिन परम्परागतरुपमा गरिँदै आइएको भुमे पूजालाई यस बर्ष पनि निरन्तरता दिएर पूजाआजा गरिएको हो ।
खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदायले वन, जंगलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकांक्षाले भुमे पुजा गर्न सुरु गरेको पाइन्छ । बर्खा लाग्नु अगाडी हुने यस पूजामा बाढी, पहिरो, असिनालगायतका प्राकृतिक प्रकोप नहोस भन्ने कामनासहित प्रकृति पूजाको रुपमा भुमे अर्थात भूमिको पुजा गर्ने प्रचलन रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजाले बताउनुभयो ।
उहाँका अनुसार, मंगलवार चिमखोलामा एकैदिन भूमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने जनविश्वासले जिल्लाको विभिन्न ठाउँबाट सयौँको सख्ंयामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
‘‘आपतविपत्तमा मण्डली र भुमे देवतलाई गुहार माग्ने गछौँ, आफ्नो मनोकाँक्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल पूजा गर्ने चलन छ’’–अध्यक्ष पाईजाले भन्नुभयो । चिमखोलामा मण्डली बजै र भुमेथानमा अहिलेसम्मकै धेरै भक्तजनहरु आएका थिए । तीन सय बढीले पन्च्योल नै चढाएका छन् । भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनहरुले परेवा, नरिवल लगायत चढाएर समेत पूजा गर्छन् ।
मन्डली थानको महिमाको प्रचार प्रसार हुन थालेपछि हरेक बर्ष मन्डली थानमा पूजा गर्न आउनेहरुको संख्या बढेको थान संरक्षण एवम व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताउनुभयो । भुमे पूजाको अवसरमा यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।
गाउँ सभाबाट भुमे पूजाको लागि एक महिना अघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनौट गरेपछि उनीहरुले विभिन्न टोलमा छुट्टाछुट्टै समुह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको छ । छेमाहरुले एक महिना अघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर एक आपसमा खुसीयाली बनाउनको लागि खाने र भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अगेनामा आउने अंगारसमेत एक अर्कालाई दलेर रमाइलो गर्ने चलन रहेको छ ।
भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपउन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायाँलेलगायतका गीतमा नाचगान गर्दै गाउँ फर्कदाँ स्थानीय मण्डली युवा क्लबले जेष्ठ नागरिक र अगुवाहरुलाई काँधमा बोकेर सम्मान गर्ने प्रचलन छ । यसैबिच भुमे पूजाको अवसरमा चिमखोलामा विविध साँस्कृतिक एवम खेलकुद मेलासमेत सुरु भएको छ । यता रघुगंगा गाउँपालिका– १ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ । भुमे पूजामा सरिक हुन शहरदेखि प्रवासम्म छरिएर बसेकाहरु पनि गाउँ फर्कने गर्छन् ।
यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने प्रचलन रहेको छ । प्रकृृतिलाई खुसी बनाउन गरिने भुमेपुजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेकाहरु पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रअ दुतबहादुर गर्वुजाले बताउनुभयो । भुमे पूजामा मौलिक पुख्र्यौली नाच संगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्तीहरु उत्सवमय बन्न थालेका छन् ।
मगर समुदायको बाख्लो बसोबास रहेको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजामा भने जेठ महिनाको उजेली मंगलवार भुमे पूजा गरिन्छ भने वडा नम्बर ६ पाखापानीमा बैशाखमा गर्ने प्रचलन छ । भुमे पूजाको अवसरमा भुमे थान संगै खोलाखोल्सा र धुरीहरुमा रहेका अन्य देवी– देवताको समेत पुजा गर्ने प्रचलन रहेको दग्नामका स्थानीय अगुवा युवा गुन पुनले बताउनुभयो । राससबाट
अहिले नेपालको विभिन्न गाउ ठाउ हरुमा भूमे पुजा गर्दै गर्नु भएको दाजु भाइ दिदी बैनी इष्ट हरु लाई भूमे पुजा २०७९ साल को शुभकामना !
हो हाम्रो पुन मगर हरु को मौलिक पर्ब भूमे पुजा हाम्रो पुर्खा हरुले मनाउदै र मान्दै आउनु भएको एतिहासिक मौलिक पुजा आजा रितिरिवाज संस्कार संस्कृति हामीले भुल्नु हुदैन हामी प्राकृतिक पुजक हाम्रो भेषभुषा परम्परा हरु भुल्नु हुदैन ! जय भूमे भुमेनी मण्डली देउराली देबी देवता हरुले हाम्रो सबैको रक्षा गरुन !