म्याग्दीमा विविध कार्यक्रम मनाईयो ६६ औँ राष्ट्रिय सहकारी दिवस
- २० चैत्र २०७९, सोमबार
- 356 पटक पढिएको
म्याग्दी २० चैत । ६६ औँ राष्ट्रिय सहकारी दिवस–२०७९ म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला सहकारी संघ म्याग्दीले बेनीमा प्रभातफेरी सहित दिवस मनाएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी पश्चात आयोजित मुल समारोहमा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मी, सरोकारवाला र राज्य गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले सामुहिक सहकार्यको भावनाले अघि बढेमा मात्रै सहकारीको उदेश्य प्राप्ती हुने बताउनुभयो । उहाँले सहकारीले बचत संकलन र ऋण लगानीको कारोवारलाई मात्रै प्राथमिकता दिँदा सहकारीमा आबद्ध सदस्यहरुको सामुहिक आर्थिक उपार्जन सम्भव नभएकोतर्फ उल्लेख गर्दै उत्पादनमुलक क्षेत्रमा सामुहिक सहकार्य गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएका समस्या समाधानमा प्रदेश सरकार मार्फत उचित भूमिका खेल्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले राज्य, नीजि क्षेत्र र सहकारीलाई जोडेर मुलुकको पुँजी निर्माणमा तीनखम्बे अर्थनिति लिएको भएपनि सहकारीहरुले आफुलाई सहकारीको सिद्धान्त र मार्गदर्शनमा हिड्न नसक्दा सहकारीहरुमाथि चुनौति र संकट देखा परेको भन्दै त्यसतर्फ सकारीकर्मीहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका सञ्चालक मालिक र सदस्यहरु ग्राहकको भूमिका रहेर सहकारी चलाउने परिपाटीले सहकारीहरु संकटमा परेको भन्दै सहकारीका सञ्चालक र सदस्यहरुको समान भूमिका र जिम्मेवारी बहन गरेर सहकार्यको मर्मलाई अंगाल्न सकेमा मात्रै सहकारीहरु बलियो बन्नेमा उहाँहरुको जोड थियो ।
कार्यक्रममा दिदी बहिनी बचत तथा ऋण सहकारीले मुठिदान अभियान अन्तरगत बेनी नगरपालिका–५ का विपन्न परिवारका सम्मर सार्कीको परिवारलाई रु ५ हजार ५ सय ५५ बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बेनी नगरपालिकाको उपमेयरमा निर्वाचित जिल्ला सहकारी संघका सचिब ज्योति लामिछाने र वडा सदस्यमा निर्वाचित यामबहादुर बानियाँ लगायतलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत, म्यानेजर क्लबका अध्यक्ष प्रेमलाल कँडेलको सुभकामना मन्तव्य र गंगा बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।