पात्लेखर्कमा चट्याङ लागेर तिर्थयात्री भवन भत्कियो, खेलमैदानमा समेत क्षति
- २० चैत्र २०७९, सोमबार
- 375 पटक पढिएको
म्याग्दी २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कमा चट्याङ लागेर तिर्थयात्री भवन पूर्ण रुपमा क्षति भएको छ । प्रसिद्ध धार्मिक स्थल रिखार जाने तिर्थयात्रीहरुलाई लक्षित गरि पात्लेखर्कमा निर्माण गरिएको तिर्थयात्री भवन चट्याङ लागेर पूर्ण रुपमा क्षति भएको सप्तऋषि रिखार युवा क्लबका अध्यक्ष विवश फगामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भवन भत्किँदा तिर्थयात्रीको लागि भवनभित्र रहेका लत्ताकपडा र भाँडाकुडाहरु समेत क्षति भएको छ । चट्याङले तिर्थयात्री भवन भत्किँदा युवा क्लबको खेलमैदान पुरिएको छ भने खेलमैदानको प्याराफिट समेत भत्काएको छ ।
नयाँ बर्षको अवसरमा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा खेलमैदान, प्याराफिट र भवनमा क्षति पुगेसंगै मेला समेत प्रभावित हुने जोखिम बढेपछि स्थानीय युवाहरु चिन्तित बनेका छन् । त्यसैगरि खेलमैदान परिसरमा रहेको क्लब भवन चर्किएको छ भने स्थानीय जनसुन्दर आधारभुत विद्यालयको भवन समेत आँसिक रुपमा क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंकित पुनले बताउनुभयो ।
रातको समयमा चट्यांक लागेको र तिर्थयात्रु भवन र विद्यालयमा कोही पनि नभएको कारण मानविय क्षति हुनबाट जोगिएको उहाँले जानकारी दिनुभयो । चट्याङले स्थानीय छहरेखोला लघुजलविद्यूतको पात्लेखर्कमा रहेको प्रशारण समेत अवरुद्ध भएको छ ।