मुस्ताङमा हिमपात भएपछि स्थानीय हर्षित

  • २४ फाल्गुन २०७९, बुधबार
  • 522 पटक पढिएको

मुस्ताङ, २४ फागुन । मुस्ताङमा यो बर्षको पहिलो हिमपात भएको छ । गयरातीदेखि सुरु भएको सामान्य बर्षापछि बढेको चिसोको कारण हिमपात हुन सुरु गरेको हो । यस बर्षको मुख्य हिमपात हुने पुस र माघ महिनामा हिउँ नै नपरिकन बितेपनि फागुनमा भएको हिमपातले स्थानीय उत्साहित बनेका छन् । हिमपात भएसँगै, स्थानीयबासी र पर्यटकहरु हिउँसँगै रमाउन थालेको मुक्तिनाथ स्थित होटल अन्नपूर्ण इन मुक्तिनाथका सञ्चालक अमृत सुवेदीले बताए । उनका अनुसार, भ्रमणमा आएका पर्यटकहरु हिमपातमा खेलेर रमाएका छन् ।
हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम सुरु भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमिनमा जम्न सकेको छैन् । हिमपातले डाँडाँ र खर्कहरु भने सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासी बताउँछन् ।
जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ ।
मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरु समेत खुसी भएका छन् । हिउँदयाममा बर्षा र हिमपात नहुँदा जमिन सुख्खा भएर खेति समेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईको लागि राहत भएको कृर्षकहरुको भनाई छ ।
हिमपातले मुस्ताङका किसानलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिए । स्याउ बगैचा व्यवस्थापन र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।