दुर्गममा तीन दशक विताएका प्रअलाई पूर्वविद्यार्थीको नगद रु १ लाख पुरस्कार
- १९ फाल्गुन २०७९, शुक्रबार
- 685 पटक पढिएको
कमल खत्री
बेनी, १९ फागुन । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशक समय अध्यापन गर्नुभयो । विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा वि.स. २०५० सालमा म्याग्दी आउनुभएका आलमलाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान बिषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गर्नुभएको थियो ।
जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालयमा पुग्नुभएका आलम सुरुवातका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मारेर हिड्ने कोसीस पनि गर्नुभयो । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले आफ्नो जीवनको आधा उमेर यसै गाउँमा बिताउनुभयो । आलमले यस विद्यालयमा करिब तीन दशक समय विताउनुभएको छ । आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरबृद्धि गरिएको थियो । २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।
आगामी २०८० असोज ३ गतेबाट अनिवार्य अवकाश लिएर विद्यालयबाट विदा हुन लाग्नुभएका आलमको योगदानको गाउँले र पूर्व विद्यार्थीहरुले उच्च मुल्यांकन गरेर भव्य सम्मान गरेका छन् । वि.स. २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत आलमलाई विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा मल्कबाङ समाज युकेद्धारा नगद रु एक लाख सहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले प्रअ आलमलाई उक्त नगद सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । विद्यालयको स्तरवृद्धि भएर मावि सञ्चालन भएदेखि शिक्षक र प्रधानध्यापक भएर शिक्षण गर्दै आउनुभएका आलमले विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको मल्कबाङ समाज युकेका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
‘‘ उहाँले पढाएका विद्यार्थी अहिले देश तथा विदेशमा विभिन्न क्षेत्रमा स्थापित समेत भएका छन्, तराईदेखि पहाडको दुर्गम बस्तीमा आएर जिवनको महत्वपूर्ण समय शिक्षणमा विताउनुभयो, दुर्गम गाउँका धेरै बालबालिकाहरुलाई मावि तहसम्मको पठनपाठन गाउँमै गर्ने अवसरमा उहाँको योगदान छ’’– छन्त्यालले भन्नुभयो । धेरै पूर्व विद्यार्थीहरु अहिले प्रवासका विभिन्न मुलुकमा छरिएको र उहाँको अवकासको समयमा उपस्थित हुन नसक्ने भएकाले अहिले नै नगद सहित सम्मान गरिएको विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका छन्त्यालले बताउनुभयो ।
विद्यालयमा पूर्व विद्यार्थीहरुको सम्मान ग्रहण पश्चात प्रअ आलमले गाउँलेको अपार मायाले आफु दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक विताएको बताउनुभयो । ‘‘ बर्षौसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गथ्र्यौ, केहि बर्ष अघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, सदरमुकाम बेनीदेखि पनि यहाँ आउन हिजोका दिनहरुमा निकै ठूलो दुःख थियो, तर गाउँमा आएपछि विद्यार्थी, अभिभावक र यहाँको व्यवस्थापन समितिको अपार स्नेह र आत्मिएताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन’’–आलमले भन्नुभयो ।
विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङबासीले गर्ने सकरात्मक सहयोग र योगदानले आफु प्रभावित बनेको उहाँले अनुभव सुनाउनुभयो । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भएपनि समुदायको अग्रसरता र क्रियाशिलताले विद्यालयको सञ्चालनमा ठूलो योगदान गरेको उहाँको भनाई छ । ‘‘अब उमेर हदको कारण अनिवार्य अवकासको समय नजिकिएको छ, यसले मलाई परिवारसंग संगै बस्न पाउने अवसर त दिनेछ, तर जीवनको उर्जावान समय विताएको गाउँसंग छुटाउने छ’’–प्रअ आलमले भन्नुभयो ।
विद्यालयमा निजी शिक्षकको रुपमा कार्यरत रहेको दुई बर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेहरुले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए । २०५३ सालमा परिक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतिय श्रेणी पदमा उर्तिण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम २०६७ मा माध्यमिक तह द्धितिय श्रेणीमा बढुवा हुनुभएको थियो । आलमको घरपरिवारको रौटहटमै बसोबास रहेको छ ।