गुर्जामा आयोजित स्वास्थ्य शिविरबाट तीन सय जना लाभान्वित

  • १७ फाल्गुन २०७९, बुधबार
  • 523 पटक पढिएको

 

म्याग्दी, १७ फागुन । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै चिकित्सक मार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविरमा ३१२ जना लाभान्वित भएका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । पोखराको फिस्टेल अस्पतालका फिजिसियन डाक्टर शिव भट्टराईको नेतृत्वमा गुर्जा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो । शिविर सञ्चालनका लागि मुगुङग्वा संस्थाका लिम झुङगको नेतृत्वमा संस्थाका प्रतिनिधि र चिकित्सकको टोली हेलिकप्टर चढेर गुर्जा पुग्नुभएको थियो ।

छिमेकी वडा लुलाङ देखि पुरै दिन जंगल, भिर र खोल्साको बाटो हिडेर पुगिने गुर्जाका बासिन्दाले गाउँमै चिकित्सक मार्फत सेवा पाउँदा राहत महशसु गरेका छन । संस्थाको टोलीले गुर्जा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान अटो कल्याप, औषधी र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।