२० बर्षदेखि बाँझो जग्गामा सामूहिक आलु खेती विस्तार
- ११ फाल्गुन २०७९, बिहीबार
- 699 पटक पढिएको
बेनी, ११ फागुन : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० बर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयबासीले व्यावसायिक रुपमा सामूहिक आलु खेती सुरु गरेका छन् । लमसुङको स्थानीय लगनशिल बहुउदेश्यीय कृषक समूहले मरेनीमा बर्षौदेखि बाँझो रहेको ४४ रोपनी जग्गालाई झाडी फडानी गरेर पुनः आलु खेती विस्तार गरेका हुन् ।
एक महिनादेखि बाँझो जग्गाको झाडी फडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताउनुभयो । उहाँका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक रुपमा सामूहिक आलु खेति गरिएको छ । यस बर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनी संगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ ।
मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर आलु २० मुरी आलुको विउ रोपीएको समूहले जनाएको छ । गाउँपालिकाको आलु पकेट कार्यक्रम मार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिनुभयो ।
‘‘ बाँझो जग्गामा आलुखेती गरिएपछि बर्षौदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ, यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिन स्थानीय कृषकहरु उत्साहित बनेका छन्, मौसम अनुकुल भएमा सामूहिक आलुखेतिबाट स्थानीयबासीको आयआर्जनमा समेत टेवा पुग्नेछ’’–थापाले भन्नुभयो ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा आलु पकेट कार्यक्रमको लागि रु १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेश भएका मध्ये छनौट भएको वडा नम्बर २ को लगनशिल बहुउदेश्यीय कृषक समूह र वडा नम्बर ६ मराङको बुल झर्मका कृषि जडिबुटी तथा पशुपंक्षि कृषक समूहलाई रु ६/६ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ । यस बजेटबाट बाँझो जग्गालाई खेती विस्तारका साथै मिनि टेलर हलो लगायतका कृषि औजार उपकरण समेत सहयोग गरिने जनाइएको छ ।