पानी नपर्दा लेक र खर्कमा घाँसकाे अभावले पशुचरनकाे समस्या
- ८ फाल्गुन २०७९, सोमबार
- 593 पटक पढिएको
म्याग्दी ८ फागुन । ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ। लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्।
गाई–भैंसी लगायत पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा रहेको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका पशुपालक कृषक डेकबहादुर बूढाले बताए। उनका अनुसार सामान्यतया माघ महिनाको दोस्रो हप्ताबाट घाँस पलाउन सुरू हुन्थ्यो। तर यो वर्ष हिउँदे वर्षा नहुदाँ घाँस पलाएको छैन। यसरी घाँस नपलाउँदा घाँसको अभावमा कृषकलाई गाईभैँसी र भेडा बाख्रा के खुवाएर पाल्ने भन्ने चिन्ताले सताएको छ। दिनभर वन जंगलमा लगेर छोड्ने र रातमा गोठमा बाँधेर गाईभैंसी पाल्दै आएका कृषकहरू सबै भन्दा बढी समस्यामा परेका छन्।
हिउँदाको अन्तिम र गर्मीको सुरुवातसँगै चरन क्षेत्रमा घाँस पलाउने गरेको भएता पनि यस वर्ष गत असोज महिनापछि पानी नपर्दा कृषक समस्यामा परेका छन्।हिउँदे वर्षा नहुँदा हिउँदे अन्न बाली समेत सुक्दै जान थालेको छ। कतिपय पशु कृषकले घाँस आफ्नो बारीमा लगायका हुन्छन्। धेरैजसो कृषक वन जंगल तथा खोलको नजिकमा भएको घाँसको भरमा पशुपालन व्यवसाय गरिरहेका छन्।