म्याग्दीलाई संस्कृति र प्रकृतिको सम्भावना उजागरबाट समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
- ७ माघ २०७९, शनिबार
- 427 पटक पढिएको
बेनी, ७ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले म्याग्दीलाई संस्कृति र प्रकृतिमा रहेको सम्भावनालाई उजागर गरि समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा गत पुस २८ देखि सञ्चालित सातौँ म्याग्दी महोत्सवको शनिवार बेनीमा समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले म्याग्दी प्रकृति र संस्कृतिमा धनी रहेको बताउँदै यसलाई यहाँको आर्थिक गतिविधिसंग जोड्न सके यसले रोजगार सिर्जना गर्ने र आत्मनिर्भर बनाउन सहयोग पूग्ने बताउनुभयो । ‘‘ यहाँका जातजातिका पुख्र्यौली, यानीमाया, सोरठी, भजन, कृतन, घाटु लगायतका मौलिक संस्कृति छन्, हिजोका दिनमा परम्परागत मेलाहरुले यस्ता संस्कृतिलाई संरक्षण गर्ने गर्थे, अहिले महोत्सवहरुले यिनको जगेर्ना र संरक्षणमा योगदान दिएका छन’’–मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।
उहाँले त्रिवेणीदेखि कोरला जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना गण्डकी प्रदेशको भाग्यरेखा रहेको बताउँदै यसलाई सम्पन्न गराउन प्रदेश सरकारले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उत्तर–दक्षिण जोड्ने सडक स्तरीय बनेर सञ्चालनमा आउन सके यसले दुई छिमेकी राष्टसंगको पहुँच र सम्बन्ध बढ्ने र त्यसले व्यापार व्यवसाय र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्दीमा रहेका स्लेट, ढुंगा, खरि, तामा र फलाम खानीहरुको उत्खनन्का लागि आबश्यक नीति निर्माणमा ध्यान दिने बताउँदै बेनी बजार लगायत नदीको तटिय क्षेत्रका बस्ती संरक्षण प्रमुख प्राथमिकता पर्ने बताउनुभयो । संघीय सरकार मार्फत सञ्चालित बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र परेको गुनासोलाई सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने मुख्यमन्त्री अधिकारीले आश्वासन दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले म्याग्दीलाई विकास निर्माण योजनामा प्राथमिकतामा राख्न मुख्यमन्त्री अधिकारीलाई आग्रह गर्नुभएको थियो ।
संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लाको अवस्थाको बारेमा जानकारी गराउँदै यहाँ अधुरा रहेका विकास निर्माण योजनाहरुलाइृ समयमै सम्पन्न गराउने वातावरण बनादिन मुख्यमन्त्री अधिकारीको ध्यानकर्षण गराउनुभएको थियो ।