जलवायु परिवर्तनकाे असर : हिमपात नहुँदा नाङ्गिए हिमाल,सुनसान बने पर्यटकीय गन्तव्य

  • ७ माघ २०७९, शनिबार
  • कमल खत्री
  • 563 पटक पढिएको

म्याग्दी, ७ माघ । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङका बसन्त शेरचन हिमाल कालापत्थर बन्न थालेकोमा चिन्तित हुनुहुन्छ । उमेरले ८० पार गर्नुभएका शेरचनले हिमालमा हिउँको मात्रा घट्दै जाने र हिमशृङ्खला विस्तारै काला डाँडाको रुपमा देखिने अवस्थामा पुग्न थालेको बताउनुभयो । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालहरुमा यस बर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लीएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्येक्ष रुपमा पारेको शेरचनको भनाई छ ।

‘‘यतिबेला सिंगो मुस्ताङ हिमालले धपक्क ढाकिनुपर्ने हो,तर अवस्था त्यस्तो छैन, हिउँ पर्ने छाँटकाँट छैन, हिमालका डाँडाहरु उजाड र फुस्रा देखिन थालेका छन्,’’–शेरचनले भन्नुभयो । हिमपात नभएपछि हिमालको हिउँ पग्लीएको छ । हिउँ पग्लीएपछि हिमालहरु नाङ्गिदैँ गएका छन् । हिमालमा हिउँको मात्रा बढाउन मात्रै नभएर खेती किसानीको लागि पनि यो समयमा हिमपातको जरुरत पर्ने स्याउ खेती समेत गर्दै आएका शेरचन बताउनुहुन्छ।

‘‘यतिबेला यहाँका बारीमा जौ, गहृँ खेती गरिएको छ, स्याउका बगान पात झरेर नाङ्गा बनेका छन्, यतिबेला हिमपात भए त्यसले सिंचाईको काम गर्ने थियो, स्याउ र खेतीबालीमा फुलखेलेपछि हिउँ परे त्यसले राहतको ठाउँमा नोक्सानी दिन्छ’’–उहाँले थप्नुभयो । पछिल्लो बर्षहरुमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आउनुले जलवायू परिवर्तनको प्रत्येक्ष प्रभाब र असर देखिएको हुनसक्ने मुस्ताङका स्थानीयबासी बताउँछन् ।

गत बर्ष यतिबेला मुस्ताङमा हिउँ खेल्ने सिजन सुरु भएको थियो । पुस पहिलो साता नै हिमपातले मुस्ताङमा हिउँ खेल्न जानेहरुको भीड लागेको थियो । गत बर्ष ३ देखि चार फिट सम्म हिउँ परेको मुस्ताङमा यतिबेला हिउँ परेको छैन् । यतिबेला मुस्ताङ सुनसान छ । तल्लो मुस्ताङदेखि माथिल्लो मुस्ताङ सम्म नै हिमपात भएको छैन, तर चिसो अत्यधिक बढको छ । पानि जमेर बरफ बनेका छन् । खोलाहरु जम्म थालिसकेका छन् । जोडो छल्न उपल्लो मुस्ताङीहरु घुम्ती व्यापारको लागी देशका विभिन्न शहरमा पुगिसका छन् । तल्लो मुस्ताङका स्थानीय समेत पर्यटकहरुको आगमन नभएपछि घुमफिर र जाडोको समय विताउनका लागि मुस्ताङबाट बाहिरीएका छन् ।

हिमपात नभएको र चिसो बढेको कारण मुस्ताङमा पर्यटकहरुको आगमन घटेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउनुहुन्छ । ‘‘ चिसो बढेको छ, हिउँ परेको छैन, स्थानीयबासीपनि धेरै तलतिरै झरेका छन, पर्यटकहरु पनि भित्रिन छाडेका छन्, हिमपात भए हिउँमा रमाउन पर्यटकहरु आउने थिए’’–उहाँले भन्नुभयो । करिब १० बर्ष अघि मंसिर ३ गते नै हिमपात भएको स्मरण गर्दै उनले अहिले हिमपात बेसिजनमा हुन थालेको र त्यसले जनजिवन र यस क्षेत्रको कृषिमा नकरात्मक प्रभाब पारेको बताउँछन् ।

‘‘ हिमालको हिउँमो मात्रा घट्दो छ, हिउँदमा हिमपात हुन छाड्यो, बर्खामा अत्यधिक बर्षा हुन थाल्यो, खासमा जोमसोममा भारी बर्षानै हुने थिएन, अहिले त बाढी नै आउँछ, खोला नाला नै उर्लिने गरि भारी बर्षा हुन्छ’’–जोमसोमका स्थानीयबासी समेत रहेका संघका अध्यक्ष तुलाचनले भन्नुभयो । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगीरि, अन्नपूर्ण लगायतका हिमालहरु रंग उडेझै फिक्का देखिन थालेका छन् । बौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयबासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको महसुस गर्न थालेका हुन् ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल पहाडजस्ता देखिन थालेको र जङ्गली फुलहरुमा समेत त्यसको प्रभाब देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायि क्याप्टन डमबहादुर पुनले बताउनुभयो। ‘‘ हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपात पछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहिन देखिन थालेका छन, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ’’–अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पुनले भन्नुभयो ।

गत बर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकहरुको चहलपहल भएको स्मरण गर्दै पुनले यस बर्ष हिउँ नपरेपछि पर्यटन समेत प्रभावित बनेको सुनाउनुभयो । ‘‘हिउँ खेल्न पर्यटकहरु खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटा सहित सबै होटलहरु सुनसान छन्, सुख्खा जाडोको कारण नेपाली पर्यटकहरु पनि घुम्न आउने घटेका छन्’’– पुनले भन्नुभयो । हिउँ नपरेपनि चिसो भने अत्यधिक बढेपछि जनजिवन प्रभावित बनेको छ । म्याग्दीमा हिमपात भएपछि पर्यटकीय स्थल पुनहिल संगै टोड्के, रुइसे, झाँक्रेपानी, मालिका धुरी, दुरलेक लगायतका स्थानमा पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ ।

समयमै हिमपात नहुँदा हिउँदेबाली लगाएका कृर्षकहरु चिन्तित बनेका छन् । हिमपात भएपछि हिउँदेवालीमा सिचाई हुने भएपनि नहुँदा सिचाईको अभाब हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृर्षकहरुका लागि समयमै हिमपातको महत्व रहेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । ‘‘गत बर्ष यो समयसम्म दुई पटक हिमपात भैसकेको थियो, तर यो बर्ष हुन सकेको छैन, हिमपात नभएपनि चिसो अत्यधिक हुने र हुस्सी लागिरहने भएकाले जनजिवन प्रभावित हुन्छ, बरु हिमपात भए, त्यसपछि मौसम सफा हुने गर्छ, हिमपातको चिसोले असर पनि कम गर्छ भन्ने मान्यता छ’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृर्षकहरु हिमपातको प्रतिक्षमा छन् । जलजायु परिवर्तनको असर हिमालमा जंगै जङ्गजी फुलहरुमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस बर्ष पुसमा नै फुलेको देखिएको छ । जंगलमा लालीगुराँस पुसमै फुलेपछि अचम्वीन बनेको जनता मावि दग्नामका प्रअ गुनबहादुर पुनले बताउनुभयो । ‘‘मौसम परिवर्तन हुँदै गएको छ, भारी बर्षा र भारी चिसोको समस्या हरेक बर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फुलहरु बेमौसममा फुल्न थालेका छन्’’–प्रअ पुनले भन्नुभयो ।      

तस्बिर अमृत सुवेदी, एस के थकाली र कमल खत्री   

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l