पोखरा जहाज दुर्घटनामा अस्ताए पत्रकार त्रिभुवन पौडेल

  • १ माघ २०७९, आईतवार
  • 817 पटक पढिएको

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको ७२ जना सवार यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका पौडेलको निधन भएको हो ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गर्नुभएको थियो । उहाँ प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष र गण्डकी प्रदेश इन्चार्ज समेत हुनुहुन्थ्यो ।
संगठनको कास्की जिल्ला शाखा उपाध्यक्ष, जिल्ला अध्यक्ष हुदै प्रदेश अध्यक्ष हुदै उहाँले केन्द्रिय समितिबाट गण्डकी प्रदेश समन्वय केन्द्रको प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।
संगठनको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार भएको उपलव्ध पदाधिकारी बैठकमा सहभागि भई पोखरा फर्कने क्रममा दुर्घटनामा पर्नुभएका पौडेल पोखरा हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक हुनुहुन्थ्यो । अन्नपूर्ण एफएम, नेपाल टेलिभिजनमा सम्वाददाताको रुपमा काम गर्नुभएका पौडेल पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस विज्ञको रुपमा पनि काम गर्नुभएको थियो । २०४३ भदौ ७ गते पर्वतको कुश्मा नगरपालीका १० आर्थर डाडाखर्कमा जन्मनु भएका त्रिभुवन एक असल र कुशल पत्रकार, क्रान्तिकारी युवा र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र आमा हुनुहुन्छ । यसैबिच पत्रकार पौडेलको निधनमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल लगायतले शोक विज्ञप्ती प्रकाशित गरि दुख व्यक्त गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिका महासचिब सन्तोष गौतमद्धारा प्रकाशित विज्ञप्तीमा पौडेलको निधनले प्रेस सेन्टर र गण्डकी प्रदेशले मात्र नभई नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको उल्लेख गरिएको छ । उहाँहरुको निधनले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको सिंगो परिवार स्तव्ध भएको जनाउँदै उहाँको निधनमा शोक मनाउने जनाइएको छ ।
दिवंगत पौडेल सहित विमान दुर्घटनामा परेर निधन भएका सबै महानुभावहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकको घडिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना प्रकट गरिएको छ । संगठनको केन्द्रीय कार्यलयको आकस्मिक बैठकले माघ २ गते केन्द्रीय कार्यलय, सबै प्रदेश, जिल्ला र पालिका समितिको कार्यलयहरुमा श्रद्धान्जली कार्यक्रम गर्ने र शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गर्ने तथा ३ दिन श्रद्धान्जली बाहेकका अन्य गतिविधि नगर्ने र १३ दिनसम्म संगठनका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय भएको प्रेस सेन्टरले जनाएको छ ।