विश्व शान्तिको कामना गर्दै मौवाफाँटमा २४ घण्टे अखण्ड कृर्तन सुरु
- २६ पुष २०७९, मंगलवार
- 502 पटक पढिएको
म्याग्दी, २६ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा २४ घण्टे अखण्ड कृर्तन सुरु गरिएको छ । विश्व हिन्दु महासंघको गाउँपालिका स्तरीय समितिको आयोजनामा मंगलवार विहान ११ :४५ बजेदेखि अखण्ड कृर्तन सुरु गरिएको हो । रघुगंगा गाउँपालिका र स्थानीय चन्दादाताहरु समेतको सहयोगमा आयोजित उक्त अखण्ड कृर्तन कार्यक्रमले मौलिक संस्कृतिको रुपमा रहेको भजनकृर्तन संरक्षणमा समेत टेवा पुग्ने जनाइएको छ ।
महासंघ रघुगंगाका अध्यक्ष लक्ष्मीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष कृष्णलाल आचार्य, बरिष्ठ उपाध्यक्ष डण्डपानी पौडेलले मन्तव्य राख्नुभएको थियो । महासंघका पालिका सचिब डण्डपानी सुवेदीको स्वागत र प्रकाश सुवेदीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । मौवाफाँट स्थित शिवालय मन्दिर परिसरमा सञ्चालित उक्त अखण्ड कृर्तनमा मौवाफाँटका विभिन्न ६ समहू सहित बेग, कुइनेमंगले , झिँ र पिप्लेबाट समेत कृर्तन समूहरुले सहभागीता जनाएका छन् । विश्व शान्तिको कामना गर्दै आयोजित उक्त अखण्ड कृर्तनमा लक्ष्मीनारायणको स्थापना सहित पुजाआजा गरिएको छ भने १०८ दिप प्रज्वलन गरिएको महासंघका सदस्य मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।