म्याग्दीमा मतदान सकिएको २८ घण्टापछि मतगणना सुरु

  • ५ मंसिर २०७९, सोमबार
  • 629 पटक पढिएको

म्याग्दी ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिएको होे । गुर्जा र बगराको मतपेटिकालाई हेलिकप्टर मार्फत ढुवानी गर्न सम्भव नभएपछि पैदलमार्ग बाट नै मुनासम्म ल्याएर बेनी ल्याइएको हो ।


मतदान सकिएको २८ घण्टापछि म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार गरेर अहिले मतगणना भैरहेको छ ।


प्रतिनिधिसभामा धवलागिरि गाउँपालिका–१ गुर्जाबाट मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ५७.७९ प्रतिशत मत खसेको छ । जिल्लाका ८२ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ८६ हजार १२० मतदाता मध्ये ४९ हजार ७६६ जनाले निर्वाचनमा मतदान गरेको जनाइएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।