शिख मावि मतदान केन्द्रमा मतदान सुरु
- ४ मंसिर २०७९, आईतवार
- 481 पटक पढिएको
म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख मावि मतदान केन्द्रमा रोकिएको मतदान पुन सुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि करिव साढे दुईघण्टा स्थगितपश्चात मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
विवादपछि मतदानस्थलमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको टोली शिख मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियालाई निरन्तरता दिएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभएको छ।
प्रतिनिधि सभा र प्रदेश निर्वाचन क्षेत्रको मतपेटिका फरक फरक भएको कारण देखाउदै गठबन्धन र एमालेका कार्यकता बिच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।
म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय २० मतदान केन्द्र रहेका छन् । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।