म्याग्दीको शिखमा मतदान स्थगित

  • ४ मंसिर २०७९, आईतवार
  • 847 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा मतदान स्थगित भएको छ । बिहान ७ बजे देखि सुरु भएको शिखको (क) मतदान केन्द्रमा ३० प्रतिशत मतदान भएपछि गठबन्धन र एमालेका कार्यकता बिच मत पेटिका फरक भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो ।


प्रतिनिधि सभा र प्रदेश निर्वाचन क्षेत्रको मतपेटिका फरक फरक भएको कारण विवाद आएपछि मतदान रोकिएको मुख्य निर्वाचन कार्यालयका साहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘प्रतिनिधि सभाको हुुनुपर्नेमा प्रदेशको र प्रदेशको हुनुपर्नेमा प्रनिनिधिको मतपेटिका भएको कारण देखाउदै विवाद भएपछि मतदान रोकिएको छ ।’

विवाद भएपछि मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको टोली शिख तर्फ जादै छ । जिल्ला सदरमुकाम बेनी देखि शिख पुग्न सवारी साधानमा २ घण्टा लाग्छ । मुख्य निर्वाचन अधिृकत टोलीले समय थपेर निरन्तर गर्ने वा स्थगित गर्ने विषयमा मतदान केन्द्रमा छलफल गरेर टुंगो लाग्ने सहायक निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय २० मतदान केन्द्र रहेका छन् । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।