राष्ट्रिय महिला भलिबलमा प्रतियोगितामा गण्डकीको विजय शुरुवात (फाेटाे फिचर)

  • २७ आश्विन २०७९, बिहीबार
  • 641 पटक पढिएको

म्याग्दी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले बिजयी सुरुवात गरेको हो ।

पहिलो सेटमा १८ का विरुद्ध २५ दोस्रोसेट ८ का विरुद्ध २५ र तेस्रो सेटमा २२ का विरुद्ध २५ मा गण्डकीले जित हाँसिल गरेको थियो । यस प्रतियोगितामा गण्डकी प्रदेशका रिमा कुँवर उत्कृष्ट खेलाडी घोषित भएकी छन् । गण्डकीको टिम अरुणा शाही र सुदुरपश्चिम बालारती जोशीको कप्तानीमा मैदानमा उत्रिएका थिए । राष्ट्रिय महिला भलिबल टिमका क्याप्टेन शाहीको म्याग्दी गृहजिल्ला समेत हो ।

आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागिय टिम सहभागी छन् । शुक्रबार दोस्रो दिन पहिलो चरणको तीन वटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् ।

समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ । महिला भलिबल प्रतियोगिताका एक समारोहका बिच जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

बेनीमा म्याग्दीको साँस्कृतिक झाँकी सहितको ¥यालीले खेलाडीहरुलाई स्वागत गरिएको थियो । प्रतियोगिता सञ्चालनको अवधिमा हरेक खेलपछि म्याग्दीको कला र संस्कृति झल्कने नृत्यहरु र संस्कृति प्रदर्शन समेत गर्ने व्यवस्था मिलाउँदै प्रतियोगितालाई खेल महोत्सवको रुपमा अघि बढाईएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवारदेखि बेनीमै तेक्वान्दो प्रतियोगिता समेत सञ्चालन हुँदै छ । उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका ३३० जना खेलाडी विभिन्न उमेर समुहमा ६६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो । बेनीको कालिपुल स्थित कवर्डहलमा हुने तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ भने खेलाडी , प्रशिक्षक र व्यवस्थापकहरु समेत बेनी आइपुेगका छन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले प्रतियोगिताले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरुको पहिचान गर्न सघाउने बताउँदै अनुशासित र मर्यादित तवरले प्रतिस्पर्धा गर्न अनुरोध गर्दै उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सम्पन्न गर्न जिल्ला स्थित आयोजकहरुलाई आग्रह गर्नुभयो । बेनी नगरपालिकाका मेयर सुरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको स्वागत र जिल्ला भलिबल संघका अध्यक्ष तजेन्द्र बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।