वडा अध्यक्षले दिए ल्यापटप,वडा सदस्यले दिन थालिन गाउँलेलाई निःशुल्क तालिम

  • ३ आश्विन २०७९, सोमबार
  • 937 पटक पढिएको

बेनी, ३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो ।

सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने कम्प्युटर तालिममा स्थानीय १५ जना सहभागी छन् । तालिम सञ्चालन गर्न एकता युवा क्लब र धौलागिरि बहुउदेश्यीय महिला विकास सहकारीको एक÷एक वटा कम्प्युटर प्रयोग गरिएको छ भने वडा अध्यक्ष पविन गर्वुजाले आफ्नो नीजि एक वटा ल्यापटप उपलब्ध गराउनुभएको छ ।

तीन महिना सम्म सञ्चालन हुने तालिममा वडा सदस्य आरती विश्वकर्माले कुनै सुविधा नलिइकन निःशुल्क रुपमा कम्प्युटर कक्षा सम्बन्धी तालिम हुनुहुने जनाइएको छ । दलित महिला सदस्य विश्वकर्मा स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नु अगाडी सम्म स्थानीय जनता माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

‘‘कुनै निश्चित स्रोत नभएपछि उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर तालिम दिन लागेका हौँ, यसले गाउँबासीलाई आधुनिक प्रविधिमैत्री बन्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ, आधारभुत तालिम सकेपछि थप कोर्स सञ्चालन गर्ने हाम्रो योजना रहेको छ’’–वडा अध्यक्ष गर्वुजाले भन्नुभयो । तीन वटा मात्रै कम्प्युटर र ल्यापटप भएकाले तत्कालको लागि १५ जनालाई पाँच समूह बनाएर प्रत्येक दिन एक घण्टाका दरले तालिम दिने कार्यतालिका बनाइएको छ ।

एकता युवा क्लबको भवनमा सञ्चालित तालिममा स्थानीय युवा क्लब, आमा समूह, महिला सहकारी, स्वास्थ्य चौकी लगायत विभिन्न संघ संस्थाबाट युवायुवतिहरुले सहभागीता जनाएका छन् ।