रघुगंगामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

  • २ असार २०७९, बिहीबार
  • 1072 पटक पढिएको

म्याग्दी २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबारे गाउँपालिकाको केन्द्र मौवाफाँटको सभाहलमा आयोजित अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हाे ।

त्यस्तै प्रतियोगितामा माध्यमिक विद्यालय तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र मुक्तिधाम मावि भगवती सान्त्वना भएका छन् । आधारभुत तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र महेन्द्र मावि झिं सान्त्वना स्थान हाँसिल गरेका छन् ।


आधरभुत र माध्यमिक तहमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन समुहलाई क्रमश ः नगद रु १० हजार, ८ हजार,६ हजार र ४ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो भने सहभागी सबै विद्यालयलाई समेत नगद रु ४ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा आधरभुत तर्फ ९ र माध्यमिक तहका ८ गरी जम्मा १७ समूहले सहभागिता जनाएका थिए । नेपाली कला, भाषा, धर्म संस्कृति तथा रीतिरिवाज झल्कने खालको नृत्यलाई प्रोत्साहन दिएर प्रतियोगितामा समावेश गरिएको शिक्षा अधिकृत सुवेदीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको नृत्य क्षमताको प्रस्फुटन गराउन सहयोग पुग्ने भन्दै गाउँपालिकाभित्र रहेका विद्यालयहरुको शैक्षिक, भौतिक र समग्र अवस्थाको गुणस्तमक सुधारमा गाउँपालिका जुटेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्यवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी पुनको अध्यक्षता, खगराज सुवेदीको स्वागत र सावित्रा सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।