धवलागिरी र अन्नपूर्णमा घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान सुरु

  • ७ चैत्र २०७८, सोमबार
  • 1141 पटक पढिएको

 

म्याग्दी ७ चैत । नेपाली कांग्रेस म्याग्दीका घर–घर जाऔँ कांग्रेसलाई जिताऔँ अभियान अन्तरगत सोमबार धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको हो । धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले सवै वडामा पुगेर काँग्रेसलाई विजय बनाउन सबै सक्रिय भएर प्रत्येक जनताको घर दैलो गर्न पार्टीका कार्यकतालाई आग्रह गर्नुभएको छ । उहाँले अबको स्थानीय चुनावमा काँग्रेसलाई बहुमतका आधारमा जिताउन सबै कार्यकता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका उपसभापती कर्ण बहादुर भण्डारी (के.बि) ले सबै जिल्लामा काँग्रेसको बहुमत लिनका लागि सबै नेता तथा कार्यकताले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर लागिपरेको बताउनुभयो ।

धवलागिरीमा पालिकाका सभापती प्रेम पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह–सचिव श्रीराम पौडेल लगायतले मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै अन्नपूर्णमा क्या.बलबहादुर तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।