गण्डकीमा धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ अघि बढेका छौँः मुख्यमन्त्री पोखरेल ( तस्वीर सहित)

  • २३ फाल्गुन २०७८, सोमबार
  • 1091 पटक पढिएको

बेनी, २३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ सरकार अघि बढेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सवका’ उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका धार्मिक क्षेत्रहरुमा पर्यटकहरु भित्र्याउनका लागि ‘धार्मिक सर्किट’को अवधारण अघि सारिएको बताउनुभयो ।


प्रदेश भित्र साना साना सर्किट र अन्तरप्रदेशमा समेत सर्किटको अवधारणा अनुसार धार्मिक पर्यटकहरुलाई भ्रमण गराउने गरि धार्मिक पर्यटन विकासलाई अघि बढाउने योजना बनाइएको उहाँले बताउनुभयो । उहाँले मुक्तिनाथ–विन्धबासीनी–जनकपुर–लुम्बिनीलाई जोडेर धार्मिक पर्यटन विकासका लागि पहल थालिएको समेत बताउनुभयो । कोरलादेखि त्रिवेणीधामसम्म जोड्ने कालीगण्की करिडोरलाईलाई धार्मिक मार्गको रुपमा विकास गर्न सकिने मुख्यमन्त्री नेपालीको भनाई छ ।


‘‘ म्याग्दी हुँदै बग्ने कालीगण्डकी सभ्यताको प्रतिक हो, यो आस्था, संस्कृति र धरोहर पनि हो, यसले शालीग्राम पाईने एकमात्रै नदीको रुपमा विश्वसामु नेपाललाई चिनाएको छ, कालीगण्डकी नदीको संरक्षण र विकासका लागि कार्यदल नै गठन गरेर प्रतिवेदन तयारीको क्रममा छ’’–मुख्यमन्त्री नेपालीले भन्नुभयो ।


गण्डकी प्रदेशका हरेक जिल्लामा धार्मिक पर्यटनको समेत अथाह सम्भावना रहेको बताउँदे धार्मिक पर्यटन विकासले समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धार्मिक यज्ञहरुको माध्ययम मार्फत धर्म, संस्कृति र परम्पराको संरक्षण संगै धार्मिक पर्यटन पूर्वाधार निर्माणमा समेत रचनात्मक सहयोग पुग्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश धर्म, जात, भाषा, संस्कृति,भुगोल र रहनसहनमा विविधताले भरिपूर्ण रहेको चर्चा समेत गर्नुभएको थियो ।


धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आजदेखि सुरु भएको धार्मिक महोत्सव फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा मन्दिरका संस्थापकचार्य जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो ।