विद्यार्थी कुटपिटको घटनामा सहमतिः उपचारखर्च विद्यालयले व्यहोर्ने, शिक्षकले मागे माफी
- २३ फाल्गुन २०७८, सोमबार
- 870 पटक पढिएको
म्याग्दी २३ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको घटनामा कुटपिट गर्ने शिक्षकले लिखित रुपमा माफी मागेपछि दुबै पक्षबीच सहमति भएको छ । गएको फागुन १३ गते कक्षा कोठामा विद्यार्थीले पछाडीबाट शिक्षकलाई कागजले हानेको भन्दै शिक्षक नविन घिमिरेले राजन पौडेल सहित पाँच जनालाई कुटपिट गरेका थिए ।
उक्त क्रममा पाईपले शरिरमा निलडाम हुने गरि शिक्षक घिमिरेबाट भएको निर्घात कुटपिटबाट पौडेलको देब्रे करङमा गम्भिर चोट लागेको थियो । शिक्षकको कुटपिटबाट घाईते भएका पौडेलको बेनी अस्पताल सहित पोखरा र बागलुङमा लगेर समेत चेकजाँच र उपचार गरिएको थियो । घटनापछि शिक्षको कुटपिटबाट घाईते भएका पौडेलका परिवारले शिक्षकलाई कारबाहीको माग गर्दै विद्यालयमा उजुरी गरेका थिए । घटनाका पीडित पक्ष सहित जनप्रतिनिधि, विद्यालय प्रशासनबीच आइतबार विद्यालय भित्र लिखित सहमति भएको हो । विद्यालयका निमित्त प्रअ लेखबहादुर हमाल र पीडित विद्यार्थीका बुबा भिमप्रसाद पौडेल बिच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
घाइते विद्यार्थीको उपचार खर्च विद्यालयले व्यहोर्ने, पिडीत विद्यार्थी पौडेललाई विद्यालयमा सौहार्दपूर्ण वातावरणमा पढ्ने अवस्था सिर्जना गर्ने, कक्षा १२ सम्म विद्यालयले निशुल्क पढाउने, कुटपिटको क्रममा देब्रे करङको ७ र ८ मा लागेको चोटका कारण भविस्यमा हुने समस्या देखिएमा विद्यालयले उपचार गर्ने, आगामी दिनमा यस्ता घटना नदोर्होयाउने सहमती भएको छ ।
उक्त क्रममा शिक्षक घिमिरेले घटनामा कमजोरी स्विकार गरी माफी माग्दै आत्मआलोचना सहित भबिश्यमा यस्ता कमजोरी नदोहोराउने लिखित प्रतिबद्धता जनाउनुभएको छ । बेनपा–६ वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल विद्यार्थी संघका सभापति निर्मल खत्री, विब्यस सदस्य सरला सुबेदी, शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश शर्मा, शिक्षक अभिभावक संघका सदस्य नारायण ढुंगाना, पिडित विद्यार्थीका आफन्त यामनाथ सुबेदी, रिषिकेश तिवारी समेतको रोहवरमा सहमती भएको थियो ।