सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

  • २२ फाल्गुन २०७८, आईतवार
  • 816 पटक पढिएको

म्याग्दी, २२ फागुन । तीन जना जेष्ठ नागरिकले चौरासी पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख, उहाँकी श्रीमति धनमाया पुनले एक लाख रुपैया र सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ माविलाई दान गर्नुभएको हो । ८२ बर्ष उमेर पुगेपछि ‘चौरासी पुजा’ गर्ने चलन छ ।


सोही च्युरिबोट घर भई पोखरा निवासी स्वर्गिय हिमप्रकाश घर्ति (पुन)को सम्झनामा श्रीमति तनमाया पुनले एक लाख रुपैयाँ विद्यालयको अक्षयकोषलाई सहयोग गर्नुभएको छ । हिमप्रकाशको गत बर्ष सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उक्त आर्थिक सहयोग रकम शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई हस्तान्त्ररण गरिएको थियो ।


८४ पुजामा हुने फजुल खर्चलाई कटाएर शैक्षिक क्षेत्रको विकास होस् भन्ने उद्धेश्यले विद्यालयलाई आर्थिक रकम दान गरिएको नरबहादुर पुनले बताउनुुभयो । पुन दम्पत्तीले यस अघि पनि विद्यालयमा स्थापित अक्षयकोषलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।