स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरु सक्रिय

  • २० फाल्गुन २०७८, शुक्रबार
  • कमल खत्री
  • 953 पटक पढिएको

कमल खत्री
बेनी, २० फागुन । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन् । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तह निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्ता संगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । पहिलो पटक कार्यान्वयनमा आएको स्थानीय तहमा समयमै निर्वाचन नहुँदा जनप्रतिनिधि विहिन बन्ने जोखिम बढीरहेको सन्दर्भमा सरकारले निर्वाचन आयोगसंग समेतको सल्लाहमा निर्वाचन घोषणा गरेपछि निर्वाचनको सरगर्मी बढ्न थालेको छ । जिल्लामा रहेका मुख्य राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलहरुले निर्वाचन केन्द्रित अभियान चलाएका छन् ।


भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामिण भेगसम्म नै चुनाबी सरगर्मी बढ्ेको छ । आगामी निर्वाचनमा वडादेखि पालिका सम्मको नेतृत्वमा पुग्न आकाँक्षीहरुले आफ्नो दलभित्र समेत आफ्नो दावेदारी राख्न थालिसकेका छन भने स्वतन्त्र रुपमा उम्मेदवारहरु समेत खुल्न थालेका छन् । संघीयताको पहिलो कार्यकाल अलमलमै बितेपनि आगामी निर्वाचनमा आफ्नो दललाई बिजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधि सहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन् । म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये दुई वटामा एमाले र चार वटामा काँग्रेसले नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका थिए ।

एमालेको चुनाबी अभियान

एमाले बिगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फकाउने योजनामा छ । काँग्रेसले आफ्नो साख जोगाउँदै पहिलो शक्तिको रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ भने नेकपा (माओवादी केन्द्र) एमाले र काँग्रेसकै हाराहारीमा नतिजा ल्याउने योजनामा अघि बढेको देखिन्छ । स्थायी सरकारको रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्ला स्थित राजनीतिक दलका पदाधिकारी तहका नेताहरु समेत इच्छुक देखिएका छन् । स्थानीय तह र वडा स्तरमा रहेका पार्टीका कमिटीहरुको बैठक राखेर निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएको एमाले म्याग्दीले जिल्ला कमिटीको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ । ‘‘सबै शक्ति अब चुनाबमा केन्दित गर्छौ, पार्टी संगठन संगै विभिन्न जनबर्गिय संगठनहरु चुनाबी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन’’–एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले भन्नुभयो । उहाँका अनुसार, पालिका कमिटीहरुले निर्णय गरेर टोल अभियान सञ्चालन गरेका छन् । वडा कमिटीको नेतृत्वमा सञ्चालन भएको टोल अभियानमा जिल्ला स्तरका नेताहरु समेत पुग्ने गरेका छन् ।

काँग्रेसको चुनाबी अभियान

नेपाली काँग्रेस म्याग्दीले जिल्ला कार्यसमितिको बैठक नै राखेर औपचारिक रुपमा चुनाबी अभियान सञ्चालन नगरेको भएपनि पालिका र वडा कमिटीहरुले स्वतन्त्र रुपमा चुनाबी अभियानलाई तिब्रता दिएका छन् । अहिले वडा र पालिकामा रहेका कार्यसमितिहरु मार्फत टोल कमिटी गठन, भातृसंस्थाहरुको पुनर्गठन, र संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भैरहेको काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिनुभयो । ‘‘पार्टी सभापतिले निकट दिनमा जिल्ला कार्यसमितिको बैठक आह्वान गर्ने तयारी गर्नुभएको छ, कुनै न कुनै रुपमा अहिले नेता तथा कार्यकर्ताहरुको सक्रियता पार्टीकै गतिविधि र कार्यक्रममा छ’’–उहाँले भन्नुभयो । काँग्रेस म्याग्दीमा सम्भावित उम्मेदवारहरुको टुंगो लगाउन र प्रतिस्पर्धीहरुबिच सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाउनका लागि समेत आन्तरिक छलफल अघि बढेको छ ।

माओवादीको चुनाबी अभियान

यस अघिको जनमतको आधारमा तेस्रो शक्तिको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) म्याग्दीले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दुई दलकै प्रतिस्पर्धामा आफ्नो संगठनको स्थान बनाउने रणनीतिका साथ चुनाबी अभियानलाई अघि बढाएको छ । पालीका कमिटीहरुको बैठक मार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र जनबर्गीय संगठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले बताउनुभयो ।‘‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरुलाई चुनाबमा केन्द्रित हुन भनेका छाँै, सबै पालिका र वडा कमिटीहरु क्रियालिश बनेका छन, यस पटक माओवादीको सुदृढ संगठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरि अघि बढेका छौँ–संयोजक जुग्जालीले भन्नुभयो । उहाँका अनुसार, चुनाबी प्रशिक्षण र अभियानलाई थप व्यापक बनाउने तयारी गरिएको छ । जिल्लामा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरुले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा नमुना र सफल काम गरेको दावि गर्दै संघीयता माओवादीको एजेण्डा भएकाले माओवादीकै नेतृत्वले मात्रै त्यसको सफल कार्यान्वयन हुने भएकाले यस पटक आफ्नो पक्षमा जनमत बढ्ने माओवादीको दावि छ ।

एकिकृत समाजवादीको चुनाब लक्षित कार्यक्रम

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी)ले समेत आफ्नो संगठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरि गतिविधिलाई तिब्रता दिएको छ । पार्टी संगठन निर्माण संगै जनवर्गीय संगठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा (एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्ण कुमार विश्वकर्माले बताउनुभयो । जिल्लामा एमाले, काँग्रेस, माओवादी, नेकपा (एकिकृत समाजवादी) संगै राप्रपा, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी लगायतको समेत संगठन छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिनेबारे अझै स्पष्ट पारिसकेको छैन् । मुख्य तीन पार्टीबिच एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदाता समेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएको छ । राजनीतिक दल बाहेक स्वतन्त्र रुपमा समेत उम्मेदवारी घोषणा हुन थालेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा सागर भण्डारीले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर आफ्ना चुनाबी एजेण्डाहरु नै अघि सारिसन्नुभएको छ भने बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल प्रवासमा रहनुभएका युवा निराजन थापाले समेत ‘लक्ष्य २०७९’ घोषणा गरि बेनी नगरपालिकाको मेयरमा उठ्ने घोषणा गर्नुभएको छ ।
म्याग्दीमा मतदाता नामावली अद्याावधिक गरिँदै
स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीमा मतदाता नामावली अद्यावधिक सुरु भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको लागि कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनभयो ।

निर्वाचन आयोगमा तयार भएको फोटो सहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपन र सबै प्रकारका त्रुटीहरु सच्याउनका लागि सबै वडा कार्यालयहरुमा नामावलीको विवरण टाँस गरिएको जनाइएको छ । ंफागुन २० गतेदेखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दावी विरोध सहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ ।म्याग्दीमा अहलिे ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण संकलन भएको छ । अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाहरको हटाउने र नाम, थर , उमेर लगायतका विवरणमा त्रुटी भएमा सच्याउन सकिने कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l