जलजलामा करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन कार्यक्रम

  • १९ फाल्गुन २०७८, बिहीबार
  • 431 पटक पढिएको

म्याग्दी १९ फागुन । आन्तरीक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा जलजला गाउँपालिका–७ मिलनचोकमा बिहिबार कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकामा बिभिन्न व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सहभागिहरुलाई करयोग्य कारोबार, कर तिर्दा ध्यान दिनुपर्ने कुरा र करको दायित्वको बारेमा जानकारी दिनुभएको थियो ।
नेपाल सरकार र गाउँपालिकाको कर सम्वन्धि बिध्यमान नीतिगत व्यवस्था सम्वन्धि सचेतीकरण गराउँदै कार्यक्रममा सहभागीहरुद्वारा राखिएका जिज्ञासाहरुलाई आचार्यले प्रस्ट्याउनु भएको थियो । स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रमका शहरी शासन बिज्ञ सतिश आचार्यले पनि करका विविध पक्षका बारेमा अवगत गराउनुभयो ।
जलजला कृषक समुहका अध्यक्ष राजु आचार्यले व्यावसायीलाई घरदैलोमै सेवा दिने काम भएकोमा यसले आफुहरुलाई सजिलो भएको बताउनुभयो । कर तिर्नु सबै नागरिकको दायित्व भएको स्पष्ट पार्दै आचार्यले करको दायरामा आउन सबै व्यवसायीलाई अनुरोध गर्नुभयो । उद्योग वाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष चित्रराज रेग्मीले व्यवसायीहरुलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघ संग सहकार्य गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरुले आफूहरुले करको महत्व बुझेको तथा समयमै कर तिर्नुपर्ने तथा एकिकृत सम्पत्ति कर लगायत विविध बिषयमा प्रस्ट भएको जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन जलजला कृषक समूहका सदस्य जमूना आचार्यले गर्नुभएको थियो । कार्यक्रममा करिब ९० जना ब्यापारीको सहभागिता रहेको थियो ।