म्याग्दीका निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त

  • १२ फाल्गुन २०७८, बिहीबार
  • 1320 पटक पढिएको

म्याग्दी १२ फागुन । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त हुनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मनुभएका सेवानिवृत बेलायती सैनिक समेत रहनुभएका पुर्जालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको हो ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सदभावना दूत नियुक्त गरेको घोषणा गर्दै सम्मान गर्नुभएको थियो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सदभावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महसुस गरेको बताउनुभयो । आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउन आफूले योगदान गर्न चाहेको उहाँले बताउनुभयो । पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएको छ । उहाँले बनाएको फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।