शुसासनको पालना र विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने प्रजिअ रानाको प्रतिबद्धता(भिडियाे)

  • २५ आश्विन २०७८, सोमबार
  • 1073 पटक पढिएको

म्याग्दी २५ असोज ।
म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासनको पालना र विकास निर्माणको समस्या निराकरण गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले यस्तो बताउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा आउनु चिन्ताजनक रहेको बताउँदै आफ्नो कार्य अवधिमा कार्यालयको सेवा प्रवाहलाई चुस्त र प्रभाबकारी बनाउन लागीपर्ने बताउनुभयो ।

उहाँले नागरिकलाई सेवा प्रवाह गर्दा कर्मचारीमा नीति र नियमको पालनासंगै शिष्टता समेत जरुरी रहेको बताउनुुभयो । ‘‘आज सेवा दिएर मात्रै हुँदैन, नागरिकलाई मुस्कान सहितको सेवा दिनुपर्छ, सेवा प्रवाह गर्दा आफुलाई सेवाग्राहीको ठाउँमा राखेर दिने हिम्मत गर्न सके सबै सार्वजनिक सेवा प्रवाह प्रभाबकारी बन्न सक्छ’’–उहाँले भन्नुभयो । कार्यालय प्रमुखहरुलाई समेत सेवा प्रवाहलाई प्रभाबकारी बनाउनुको साथै सूचनाको हकको सुनिश्चिता, सूचना अधिकारीको व्यवस्था , सूचना वोर्डको उचित प्रयोग र वेबसाइटको अपडेट गर्न निर्देशन दिइसकेको प्रजिअ रानाले बताउनुभयो ।

उहाँले विकास निर्माणमा देखिएका ढिलासुस्ती र अनियमितताका समस्या निराकरणको लागि सम्बन्धित निकायसंग समन्वय गर्ने बताउनुभयो । जिल्लाका अति आबश्यक पर्ने बेनी–मालढुंगा, बेनी–जोमसोम र बेनी –दरबाङ लगायतका सडकखण्डको अवस्था दयनिय रहेको पाएको बताउँदै सम्बन्धित निकायसंग आबश्यक समन्वय र सहजीकरणको लागि भुमीका खेल्ने बताउनुभयो ।‘‘ म ७३ सालमा आउँदा भन्दा पनि अझ सडकको अवस्था दयनिय भएको पाए, यो चिन्ताजक अवस्था हो’’–उहाँले भन्नुभयो । उक्त अवसरमा प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले चाडपर्वको समयलाई लक्षित गरि आबश्यक सूरक्षा रणनीति कार्यान्वय गरिएको बताउँदै चाडपर्वलाई शान्त र मर्यादित तवरले मनाउनुपर्नेमा जोड दिनुभयो । नवआगन्तुक प्रजिअ रानाले सोमबार पत्रकारसंगै जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतसंग समेत अन्र्तक्रिया गरि जिल्लाको बस्तुस्थितिको वारेमा जानकारी लिनुभएको थियो ।