एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा म्याग्दीका छन्त्यालकाे उम्मेदवारी

  • १ जेष्ठ २०७८, शनिबार
  • 1561 पटक पढिएको

म्याग्दी १ जेठ । गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको उपाध्यक्ष पदमा म्याग्दीका अमर छन्त्यालले उम्मेदवारी दिएका छन् । विगत तीन दशकदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेका म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१ गुर्जाका छन्त्यालले एनआरएनएको अभियानमा आफुँले देखेका केही सपना पुरा गर्न उम्मेदवारी दिएको बताउँदै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई सहयोगको अनुरोध गरेका छन् ।

डा.अर्जुन बन्जाडेको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्त्यालले आफ्नो जन्मभूमि गूर्जामा समेत विभिन्न सामाजिक एवम् मानवीय सेवा गरेका छन् । लामो समय अमेरिकामा रेष्टुरेन्ट ब्यवसायमा संलग्न छन्त्यालले नेतृत्व गरेका विभिन्न नेपाली संघसंस्थामा समेत आफ्नो इमान्दारिता प्रस्तुत गरेकाले समेत एनआरएनएको गएको अधिवेशनमा एनआरएनए अमेरिकाको बोर्ड अफ् डाईरेक्टरमा अत्याधिक मतले विजय भएका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष, म्याग्दी समाज अमेरिकाकाको नेतृत्व समेत गरिसकेका छन्त्यालले ब्यवसायसँगै सामाजिक अभियानलाई प्राथमिकता दिने गरेका छन् । उनले अमेरिकामा समस्यामा परेका थुप्रै नेपालीको उद्धार समेत गरेका छन् । ‘एनआएनएमा रहेर सामाजिक कामलाई नै प्राथमिकता दिन्छु,‘यो संस्थाबाट धेरै काम गर्न सकिन्छ’ छन्त्यालले भने । उनले अमेरिकामा रहेका नेपाली र आफ्नो जन्मभूमिका लागि आफुँले सक्ने सहयोग गर्ने समेत बताए । उपाध्यक्षका उम्मेदवार छन्त्याल चुनावी अभियानमा जुटेका छन् । एनआरएनए अमेरिकाको विभिन्न पदमा म्याग्देलीले धमाधम उम्मेदवारी घोषणा गरेका छन् ।