बागलुङ घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग
- १६ चैत्र २०७७, सोमबार
- 1167 पटक पढिएको
काठमाडौं १६ चैत । नेपाली काँग्रेसले बागलुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विहान विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा नै विवाद हुँदा दुई युवाको हत्या भएको थियो ।
घटनामा प्रकाश कुँवर र दिपक नेपालीले जीवन गुमाएका थिए । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको शर्माले बताए । ‘प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ,’ विज्ञप्तिमा भनिएको छ ।
शर्माका अनुसार घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको छ । घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कार्वाही अघि बढाउन शर्माको माग छ ।