मापदण्ड पुरा नगर्ने नीजी स्वास्थ्य संस्थालाई कारबाही गर्ने कार्यपालिकाको निर्णय
- १२ चैत्र २०७७, बिहीबार
- 1265 पटक पढिएको
बेनी, १२ चैत । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ मा स्वास्थ्य मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकरण गर्ने र मापदण्ड पुरा नगर्ने संस्थालाई स्प्ष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने ६६ औँ कार्यपालिकाको बैठकबाट निर्णय गरिएको प्रवक्ता रामकृष्णा बराईलीले बताए ।
नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकमा क्याम्पसचोकको ढल निकास ब्यवस्थापनका लागि ५० लाख र खुल्ला मञ्चको खैलकुद मैदान निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरिएको प्रवक्ता बराईलीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
सामाजिक विकास मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा ड्राईभिङ, ब्युटिपालर, पलम्विङ, इलेक्ट्रिसियन र मन्टेश्वरी तालिम संचालन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ब्यवसायिक कृषि विकास कार्यक्रम अन्तरगत बेनी नगरपालिका–२ को स्यानोलेक कृषक समुह मार्फत खाद्यान्नबाली र वडानम्वर ५ को भगवती कृषक समुहलाई मौरीमालनको पकेट क्षेत्र कार्यक्रम संचालन गर्दै ६ लाखको दरमा १२ लाख रुपैया बजेट विनियोजन भएको प्रवक्ता बराईलीले बताए ।
यसैगरी बेनपा २ स्थित हाडेभिर र वडानम्वर ३ भकिम्लीको छेपारेमा रहेको साझा सुविधा केन्द्रको भवन मर्मत गर्ने कार्यपालिकाको बैठकमा निर्णय भएको जानकारी दिए ।