म्याग्दी उद्योग वाणिज्य संघमा कटुवालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

  • २५ माघ २०७७, आईतवार
  • 1565 पटक पढिएको

म्याग्दी २५ माघ ।  म्याग्दी उद्योग वाणिज्य संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको छ । शनिबार राती सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ,सह–सचिव बाबुराम आचार्य,सह–कोषाध्यक्ष नारायण जिसी रहेका छन् ।

अधिवेशनले महिला उद्यम विकास समितिकी अध्यक्ष लक्ष्मी कार्की सहित ३७ सदस्यीय कार्यसमिति चयन भएको महासचिव अमित बानियाँले जानकारी दिए । जिल्लाका पाँचवटै गाउँपालिकास्तरीय बजार इकाईका अध्यक्ष सहित मनोनित सदस्यहरुको समेत सपथ ग्रहण गराइएको छ । नवनिर्वाचत अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, ब्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाए ।

‘यो पदमा म एक्लै छैन्,‘सबैको सुझाव लिएर अगाडी बढ्छु’अध्यक्ष कटुवालले भने । उनले जिल्लाभित्रका उद्योगब्यवसायीको समस्या र आवश्यकताका बारेमा जानकार रहेको समेत बताए । नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्व अध्यक्ष सर्दशनकुमार श्रेष्ठ, जिवनकुमार विश्वकर्माले बधाई तथा प्रमाणपत्र वितरण गरेका थिए ।