बेनी खानेपानीमा नयाँ संचालक समिति चयन, अध्यक्षमा रेग्मी

  • २३ माघ २०७७, शुक्रबार
  • 1600 पटक पढिएको

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव प्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा १० औ अधिबेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो ।

संचालक समितिको उपाध्यक्षमा रमेश गिरि ,सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल चयन हुनुभएको छ । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिबेशन को बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उहाँले संस्थाले बजारबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष खेमराज ओली, नेकपा म्याग्दीका नेता शेरबहादुर केसी, काँग्रेस म्याग्दीका सचिब क्याप्टेन मिनबहादुर कार्की, जिल्ला समन्वय अधिकारी आकांक्षा रिजाल, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, पर्वत बेनी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मी, गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बमबहादुर पुन, उपभोक्ता हिमबहादुर भण्डारी, अमृतदेवी बानियाँ लगायतले मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरि १ हजार ६७ घरधुरीका करिब २० हजार जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा, सचिब रमेश गिरीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रेग्मीको स्वागत र सचिब गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ । प्रतिमहिना १० युनिटसम्म न्युनतम रु २२० शुल्क निर्धारण भएको छ । ११ देखि २० युनिटसम्म प्रतियुनिट २४ रुपैयाँ, २१ देखि ३० युनिटसम्म प्रतियुनिट २६ रुपैयाँ, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट २८ रुपैयाँ , ४१ देखि ५० युनिटसम्म प्रतियुनिट ३० रुपैयाँ र ५१ युनिटदेखि माथि प्रतियुनिट ३२ रुपैयाँका दरले शुल्क निर्धारण भएको कार्यालयका प्रवन्धक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।