भकिम्लीमा काँग्रेसको शक्तिः ‘तरुण दल गठनमा हेलिकप्टरबाट उतारियो केन्द्रिय नेता

  • १७ माघ २०७७, शनिबार
  • 1538 पटक पढिएको

म्याग्दी १७ माघ । नेपाली काँग्रेस म्याग्दीले आफ्नो शक्ति संचयमा जोड दिएको छ । ग्रामिण भेगमा समेत जिल्ला र केन्द्रिय स्तरका नेताहरुलाई उतारेर काँग्रेस म्याग्दीले आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेको हो । शनिवार बेनी नगरपालिका–३ भकिम्लीमा भातृय संगठनको गठनका लागि समेत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेताहरुलाई हेलिकप्टर मार्फत भकिम्लीमा उतारिएको छ ।

शनिबार म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीले आयोजना गरेको वडास्तरीय तरुणदल पुर्नगठन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँडलले जनमतमाथि अपमान हुने गरी संसद विघटन मुद्दामा अदालतले फैसला गरे जनताले सहजतापूर्वक साथ नदिने बताउनुभयो । नेता खाँडले अदालतको अन्तिम फैसलाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानाको रक्षा गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।


अदालत संविधानको रक्षक भएकाले संसद विघटन अनुमोदन भए अदालतको स्वतन्त्रता गुम्ने निश्चित रहेको नेता खाँडको ठोकुवा रहेको थियो । हरेक नेपालीको अन्तिम आस्थाको धरोहर अदालत भएकाले यसपटकको फैसलाले जनताको विश्वास जित्ने वा गुम्ने अवस्था आउने बताउँदै सर्वोच्चलाई संविधानको ब्याख्या गरेर फैसला गर्न अनुरोध गर्नुभएको छ ।नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधानलाई नेकपाको आन्तरिक कलहका कारण ध्वस्त हुने अवस्थामा पुगेको बताउँदै नेपालमा कम्यूनिष्टको पतन निश्चित रहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने समेत बताउनुभयो । सोही अवसरमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विगतका आन्दोलनका कम्यूनिष्ट पार्टीले धोका दिएकाले अवको आन्दोलन एक्लै गर्ने बताउनुभयो ।


कार्यक्रममा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरिञ्जीवि शर्मा, जिल्ला सदस्य केबी भण्डारी, बेनी नगर सभापति अनोद श्रेष्ठ, यूवा ब्यवसायी भिम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर संघका अध्यक्ष हिरा पुन, महिला संघ अध्यक्ष बिमला गौचन, तरुण दल प्रदेश क संयोजक असल केसी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्या. जसबहादुर पुन, स्वागत सचिव दलसिंह रोका र सञ्चालन जिल्ला कार्यसमिति सदस्य मनकुमारी विश्वकर्माले गर्नुभयो। होम रोकाको अध्यक्षतामा ५४ सदस्यीय तरुण दल गठन भएको छ ।