गलेश्वर–पिप्ले–भगवती सडक : निर्माण कार्यमा गुणस्तर कायम र जनशक्ति थप गर्न निर्देशन (भिडियो)

       बगैचा–भगवतीखण्ड कालोपत्रेको तयारी

  • १२ माघ २०७७, सोमबार
  • 1813 पटक पढिएको

म्याग्दी, ११ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे योजनामा लापरबाही भएको भेटिएको छ । सडक कालोपत्रेका लागि स्तरोन्नती भैरहेको यस सडकखण्डको पिप्ले क्षेत्रमा नाली निर्माणको कार्यमा गुणस्तरहिन काम भएको हो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनीले बनाएको नालीको पर्खाल भत्कने, बालुवा र सिमेन्टको उचित मिश्रण नगरेको, नालीको पर्खालका ढुंगाहरु समेत साना प्रयोग गरेको भेटिएको हो ।

आठ किलोमिटर दुरीको सडक कालोपत्रे सहित स्तरोन्नतिका लागि दुई वर्षमा निर्माण कार्य सक्ने लक्ष्य सहित २०७६ जेठ २७ गते एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । प्रदेश सभा सदस्य विनोद केसी, पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख नवराज पौडेल, कार्यालयका प्राविधिक, नेकपाका नेता बालकृष्ण सुवेदी लगायतको अनुगमन टोलीले निर्माण कार्यमा गुणस्तरीय नदेखिएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल त्यस्ता संरचनालाई भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।

‘‘ निर्माण कार्यमा ढिलासुस्ती र लापरबाही भएको छ, नालीलाई हातले छुँदा नै भत्कने खालको भेटियो, त्यस्ता संरचनालाई भत्काएर गुणस्तरीय बनाउन निर्देशन दिएका छौँ’’–प्रदेश सभा सदस्य केसीले भने । अनुगमन टोलीमा रघुगंगा –२ का अध्यक्ष रिम कटुवाल र वडा नम्बर ३ का अध्यक्ष जिवनकुमार मल्ल लगायत स्थानीय सरोकारवालाहरुको समेत सहभागीता रहेको थियो । टोलीले पिप्लेदेखि भगवतीखण्डमा सडक विस्तार गर्दा स्थानीय रुपमा देखिएका विवाद र समस्याहरुको बारेमा समेत स्थानीयबासीहरुसंग स्थलगत छलफल गरेको थियो ।


यस आयोजनामा गत आबमा जम्मा ५० प्रतिशत भौतिक प्रगति भएको थियो । यस बर्ष मंसीरदेखि मात्रै कार्यक्षेत्रमा फर्किएको निर्माण कम्पनीलाई जनशक्ति थप गर्न र पूर्वाधारलाई गुणस्तरीय बनाउन निरन्तर ताकेता गरिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख पौडेलले जानकारी दिए । ‘‘ आयोजनाको निरन्तर प्राविधिक टोली खटिएर अनुगमन गरिरहेको छ, केहि ठाउँमा गुणस्तर नभएको संरचना बनेको भेटिएको छ, त्यसलाई भत्काएर फेरी बनाउँछौँ, सुस्त बनेको कामलाई गति दिन समेत थप जनशक्ति र मेसिन उपकरणको परिचालन गर्न लिखित र मौखिक रुपमा ताकेता गरिरहेका छौँ’’–पौडेलले भने ।


                         बगैचा–भगवतीखण्ड कालोपत्रेको तयारी
यस सडकखण्ड अन्र्तगत गलेश्वरको राहुघाटदेखि पिप्लेको बगैचासम्मको अधिकाँश सडक गत बर्षातको समयमा क्षतविक्षत भएको छ । पहिरोको कारण स्तरोन्नती भैरहेको सडकको अधिकाँश ठाउँमा क्षति पु¥याएको छ । अहिले पहिरोग्रस्त क्षेत्रलाई छाडेर माथिल्लो खण्डमा सडक स्तरोन्नतीको काम भैरहेको छ । पहिलो चरणमा बगैचादेखि भगवतीसम्मको सडकलाई कालोपत्रे गर्ने तयारी भैरहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । आगामी जेठ भित्र यस खण्डलाई कालोपत्रे गर्ने तयारीका साथ निर्माण कम्पनीलाई पूर्वाधार निर्माणमा ताकेता गरिएको निमित्त कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

उनका अनुसार, यस बर्ष तल्लो पहिरोग्रस्त क्षेत्रमा अवरुद्ध सडकको ट्याक खोल्ने र पहिरो रोकथामका लागि ग्याविनजाली लगाउने काम गरिनेछ । निर्माण कम्पनीले यस आयोजनामा करिब ७० जना मजदुर र ४ वटा डोजर मेसिन गरिचालन गरेको जनाएको छ । हाल कच्चि, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजना मार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिनेछ । निर्माण कम्पनीले सडक फराकीलो बनाउने, घुम्ती तथा मोड र ग्रेड सुधारको काम संगै नाली निर्माणलाई अगाडी बढाएको छ । गण्डकी प्रदेशका सांसद बिनोद केसीको सिफारिसमा भौतिक पूर्वाधार विकास मन्त्रालयले यो सडक आयोजना सञ्चालन गरेको हो । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।