कर्मचारी समयमै पूग्दैनन् कार्यालय

  • २६ पुष २०७७, आईतवार
  • 1635 पटक पढिएको

म्याग्दी,२६ पुष । बेनीबजारबाट सेवाप्रवाह दिएका संघ र प्रदेश अन्तरगतका कार्यालयमा छड्के अनुगमन गर्दा समयमै कार्यालयमा कर्मचारी उपस्थित नभएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आईतबार गरेको छड्के अनुगमनमा बढी कर्मचारी समयमै कार्यालयमा नपुगेको र पोशाक नलगाएको भेटिएको हो ।

प्रशासन कार्यालयबाट ५ टोलीबाट संघ र प्रदेशका २० कार्यालयहरु अनुगमन गर्दा साढे दश बजेसम्म पनि कार्यालय कर्मचारी नपुग्ने, पोशाक नलगाउने र हाजीरीमा बेवास्ता, विदा स्वीकृत नगरी विदा बसेको, चलअचल सम्पतीको कमजोर ब्यवस्थापन र नागरिक सहायता कक्ष नभएको कमजोरी भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले बताईन ।

कार्यालयको प्रगतिबारे समयमै सार्वजनिक सुनुवाई नगरेको, सेवाप्रवाहमा टोकन प्रणाली र अपाङ्गमैत्री पुर्वाधार नभएको, सिसिटिभि जडान नगरिएको र कार्यालय परिसरमा सरसफाईमा ध्यान नदिएको अनुगमनबाट भेटिएको सहायक प्रजिअ कुँवरले बताईन ।

अनुगमन टोलीबाट प्राप्त प्रतिवेदनका आधारमा संघ र प्रदेशका कार्यालयहरुलाई कमजोरी सुधारका लागि निर्देशन गरिने प्रजिअ उमाकान्त अधिकारीले बताए ।

कार्यालय सहयोगीको भरमा छोडेर कर्मचारी फिल्डमा र सेवाप्रवाहमा कर्मचारी अभाव देखाएर ढिलासुस्ती गर्ने गुनासो सेवाग्राहीको छ ।