नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा प्रधानमन्त्रीलाई विरोध पत्र

  • २४ पुष २०७७, शुक्रबार
  • 1547 पटक पढिएको

म्याग्दी २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले शुक्रवार प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ । देशब्यापी कार्यक्रम अन्तर्गत नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् । गत पौष ५ गते प्रधानमन्त्री ओलीले नेपालको संविधानको ठाडो उल्लघंन गरी असंबैधानिक, अलोकतान्त्रिक एवम स्वेच्छाचारी ढंगबाट प्रतिनिधिसभा विघटन गरेको कदमका विरुद्ध प्रधानमन्त्रीलाई पत्र पठाईएको हो । नेकपा म्याग्दीका अध्यक्ष पौडेलले प्रजिअ अधिकारीलाई सो पत्र हस्तान्तरण गर्नुभएको थियो ।

संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएको कारण सो कदमको विरोध सहित संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्नका लागि संविधानको उक्त व्यवस्थाको धाराको प्रति समेत पठाईएको नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई आफ्नो असंबैधानिक कदमलाई सच्याउँदै क्षमायाचना गरी प्रतिनिधि सभा सुचारु गरि संविधानलाई क्रियाशिल बनाउने पक्षममा आउन समेत सुझाब दिईएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ अधिकारीले पत्रलाई आजनै संवन्धित ठाउँमा प्रेषण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।