मुस्ताङमा ९ महिनापछि खुल्न थाले होटल, धौलागिरि क्षेत्रको पर्यटन चलायमान हुने आसा

  • १६ पुष २०७७, बिहीबार
  • 1670 पटक पढिएको

म्याग्दी १६ पुस । हिमाल पारिको जिल्ला मुस्ताङमा कोरोनाको कारण बन्द भएका होटलहरु करिब ९ महिनापछि खुल्न थालेका छन् । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन घोषणासंगै बन्द भएका होटलहरु पुस दोस्रो सातादेखि मात्रै सञ्चालनमा आएका हुन् । सरकारले लकडाउनलाई हटाएर पर्यटन क्षेत्रलाई खुला गरेपनि मुस्ताङका होटल व्यवसायिले होटल नखोल्दा मुस्ताङमा पर्यटकहरु जान पाएका थिएनन् ।

मुस्ताङको पर्यटन बन्द हुँदा म्याग्दीको समेत पर्यटन क्षेत्र समेत चलायनमान बन्न सकेको थिएन् । स्थानीय प्रशासन, सरोकारवाला र होटल व्यवसायी संघको पहलमा पर्यटन क्षेत्रमा पर्यटकहरुलाई भ्रमणको लागि आउने वातावरण बनाउनको लागि होटल व्यवसाय सुचारु गर्ने सहमती बनेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । उनका अनुसार, स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पालना गरि होटलहरु सञ्चालन हुन थालेका हुन् ।

होटलहरु खुलेसंगै मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज हुने भएको छ । तत्काललाई होटलहरु खुला गर्ने भएपनि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर भने अझै खुला भएको छैन् । मन्दिरलाई समेत छिट्टै सुचारु गर्ने गरि व्यवसायि र सरोकारवालासंग समन्वय भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् । ‘‘ मुस्ताङ घुम्न आउनेलाई अब रोकतोक हुँदैन, होटल व्यवसायिहरुले होटल सुचारु गर्न थालेका छन्, अब छिट्टै मुक्तिनाथलाई पनि खुला गछौँ’’– प्रजिअ पौडेलले भनिन् ।

मुक्तिनाथका व्यवसायिहरुले फागुन १ गतेदेखि मात्र मुक्तिनाथ मन्दिर खुला गर्नुपर्ने बताउँदै आएका छन् । तर तल्लो क्षेत्रका होटल खुला भएसंगै पर्यटक र तिर्थयात्रीहरु मुक्तिनाथ जान चाहने भएकाले छिट्टै नै खोल्नुपर्ने दबाब बढेको छ । मुस्ताङका होटल बन्द हुँदा यस क्षेत्रको पर्यटन पुरानै लयमा आउन नसकेको भन्दै म्याग्दीका होटल व्यवसायी संघ र पोखराका पर्यटन व्यवसायिहरुले समेत होटल खुलाउन आग्रह गरेका थिए । मुस्ताङका होटल खुलेसंगै धौलागिरि क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने आसा बढेको होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए ।