बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा (भिडियो रिपोर्ट)

  • १४ पुष २०७७, मंगलवार
  • कमल खत्री
  • 2463 पटक पढिएको

बेनी १४ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

 

अक्सिजन प्लान्ट र अक्सिजन भर्ने बुष्टर मेसिन गरिद गरेर जडान गरेसंगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा सुचारु गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको रु ७५ लाख बजेटमध्ये टेण्डर मार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो ।

त्यसैगरि केन्द्रको भवन लगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै रु ५ लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुष्टर मेसिन उपकरण खरिदमा रु १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताउनुभयो । बुष्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगंगा गाउँपालिकामा विनियोजन भइ खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरेको जनाईएको छ ।

उत्पादित अक्सिजनलाई तत्काललाई सिलिण्डर मार्फत भर्ने र प्रयोग गर्ने गरिएपनि केहि महिनाभित्रमा अस्पतालको आबश्यक पर्ने कोठाहरुमा सोझै पाइप लाइनमार्फत पु¥याउने तयारि गरिएको अस्पतालका निमित्त प्रमुख डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस बर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।

अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसंगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वासप्रश्वास, दमका विरामीसंगै जटिल रोगका विरामीको उपचारमा सहजता हुने डाक्टर कँडेलले जानकारी दिनुभयो । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्टमा अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् । दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाईएको छ ।

अस्पतालमा रहेको आइसीयूमा समेत एसी र भेन्टीलेटरका उपकरण थप गर्ने तयारी भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको रु ३० लाख बजेटलाई धौलागिरि गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमती दिएकाले आबश्यक प्रकृया अगाडी बढाईएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l