प्रधानमन्त्री ओलीको प्रतिगमन कदमका विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन (भिडियाे सहित)
- १० पुष २०७७, शुक्रबार
- 2064 पटक पढिएको
म्याग्दी १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध शुक्रवार साँझ बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले सदरमुकाम बेनीमा राँकेजुलुस निकालेका हुन । बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको थियो । राँके जुलुसमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । न्यूरोडमा जुलुसको तयारी गर्दै गर्दा युवा विद्यार्थीहरुको समुहमाथि प्रहरीले राँके जुलुसलाई रोक्ने प्रयास गरेको थियो । प्रहरी हस्तक्षपका बिच पनि युवा विद्यार्थीहरुले प्रहरीलाई झुक्याएर दुई पटक सम्म राँके जुलुस निकालेका थिए ।
हुलाक चोकमा आयोजित कोणसभामा सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले ओलीको प्रतिगमनका विरुद्ध युवाहरु सडकमा आएको बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्र विरोधी भएको समेत आरोप लगाउनुभयो । संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजान खोजेकाले युवाहरु सडक आन्दोलनमा आउनुपरेको उहाँको भनाई थियो ।
कोणसभामा संघका जिल्ला सहसंयोजक सन्दीप खत्री र अनेरास्ववियूका सहसंयोजक रेशम कटुवालले प्रतिगमनका विरुद्ध आगामी दिनमा अझै शसक्त आन्दोलन आउने उदघोष् गर्नुभयो । जुलुसमा नेकपाका प्रचण्ड–माधव नेपाल समुहका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु पनि सहभागि थिए ।पुस ५ गते प्रधामन्त्री ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेपछि नेकपा दुई समुहमा विभाजन भएको छ । प्रधानमन्त्री ओलीको कदम प्रतिमागी र संविधान विरोधी भएको भन्दै चौतर्फि आलोचना समेत भएको छ ।