बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई सहमती नदिने बेनी नगरपालिकाको निर्णय
- ५ कार्तिक २०७७, बुधबार
- 1276 पटक पढिएको
म्याग्दी ५ कात्तिक । बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि म्याग्दीको बेनी नगरपालिकाले सहमती नदिने निर्णय गरेको छ । बुधवार बसेको नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाले बेनी बजार क्षेत्रको वातावरणीय असर निम्त्याउने भएकाले निर्माणका लागि सहमती नदिने निर्णय गरेको हो ।
गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र ६ वडा तथा पर्वतको जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विद्यूत विकास विभागले प्रस्ताब गरेको यस आयोजनालाई निर्माण गर्न नहुने नगरपालिकाले ठहर गरेको प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम समेत रहेको बेनी हुँदै बग्ने नदीको अधिकाँश पानीलाई सुरुङबाटै लैजाँदा बजार क्षेत्रको पर्यावरणीय पक्षमा हानी पुग्ने र तापक्रम समेत बृद्धि भइ बजार क्षेत्रको मानव जनजिवन नै प्रभावित हुने देखिएपछि नगरपालिकाले विभागले मागेको सहमतीको प्रस्ताबमा असहमती जनाएको हो । यस अघि मंगलवार नगरपालिकाले जिल्ला स्थित सरोकारवालाहरुबाट समेत आयोजनाको बारेमा सुझाब संकलन गरेको थियो । सरोकारवालाहरुले प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि अनुमती नदिन बेनी नगरपालिकालाई सुझाब दिएका थिए ।
यस अघि पनि प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका थिए । कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धी हुने र बजार क्षेत्रमा प्रदुषण बढ्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिब डेढ किलोमिटर माथि राहुघाट र कालिगण्डकीको दोभान छेउमा रहने रघुगंगा जलविद्यूतको आउटलेट भन्दा माथि कालिगण्डकी नदिमा बाँध बनाउँदा उपयुक्त हुने सरोकारवालाहरुको सुझाब छ ।
रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अरब बीस करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमती मागेका जनाईएको छ ।