धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारकाे राहत

  • २० आश्विन २०७७, मंगलवार
  • 1543 पटक पढिएको

दरवाङ, २० असोज । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद वितरण गरिएको थियो ।

विदेशमा भएका चार जना मृतकका हकदार र कार्यक्रममा उपस्थित नभएका तीन जना मृतकका हकदारलाई जिल्ला प्रशासन कार्यालयले पछि नगद उपलब्ध गराउने नायब सुब्बा लिलाबहादुर चोखालले बताउनुभयो । चार जना मृतकका हकदार कोही पनि नभएकाले राहत दिइएन् । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुन, धवलागिरी गाँउपालिकाका अध्यक्ष थमसरा पुन, मालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपाल प्रहरीका डिएसपी किरनजङ्ग कुँवर र शसस्त्रका डिएसपी हरिबहादुर गुरुङको टोलीले राहत वितरण गर्नुभएको थियो ।

पहिरोका कारण मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । बिममा ८ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । दुखुखोलाको बाढीले बगाएर एक जना बेपत्ता भएका थिए । मालिका गाउपालिकामा पहिरोबाट ६२ वटा घर भत्किएका र १४ परिवारको कुनै पनि ठाउँमा जग्गा नभएको प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । धवलागिरीको वडा न. ६ मा २४, वडा न. ७ मा ४२ र ५ मा ४ घर पूर्ण रुपमा क्षति भएको छ ।