रघुगंगा गाउँपालिकाको कार्यपालिका बैठक : ‘बाढी पहिरो पीडितलाई राहत दिने’ (भिडियो सहित)

  • ९ भाद्र २०७७, मंगलवार
  • 1021 पटक पढिएको

म्याग्दी ८ भदौ । बाढी र पहिरोबाट पीडित भएकाहरुलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बाढी र पहिरोबाट पीडित भएकाहरुलाई आर्थिक सहायता दिने निर्णय गरेको हो । गाउँपालिकाले बाढी, पहिरोबाट ज्यान गुमाएका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराएको छ । असारदेखि भदौ पहिलो सातासम्म रघुगंगामा बाढी पहिरोबाट तीन जनाको ज्यान गएको छ ।

rag
त्यसैगरि गाउँपालिकाले बाढी र पहिरोबाट घरमा क्षति भएका परिवारलाई समेत आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, पूर्ण क्षति भएका घरलाई २५ हजार, आंशिक क्षति भएकालाई १५ हजार र सामान्य क्षति भएका घरलाई १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।

गाउँपालिकाभित्र गत असार ६ देखि भदौ २ गतेसम्म ११ घर पूर्ण, ३ घर आंसिक र २ घरमा सामान्य क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि वडा नम्बर ७ चिमखोलामा १ हजार ५ सय २५ किलो सलह किरा संकलन गरि व्यवस्थापन गरे बापत गाउँपालिकाको विपद् ब्यवस्थापन समिति र वडा कार्यालयको सिफारिसमा प्रतिकिलो १५ रुपैयाँका दरले रकम उपलब्ध गराउने कार्यपालिका बैठकले निर्णय गरेको छ । बैठकले बेनी अस्पताललाई रु १३ लाख ९५ हजार १७ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

संघिय साँसद भुपेन्द्र बहादुर थापा मार्फत विनियोजित स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत दग्नाम–दरमिजा सडक निर्माणमा प्राप्त बजेट मध्ये खर्च हुन बाँकी रहेको २७ लाख ९० हजार रकममध्ये सो रकम कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा सघाउनको लागि मेसिन उपकरण खरिदमासहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्ण रुपमा बैंकिङ प्रणालीमा लैजाने, गाउँपालिकाको विभिन्न स्थानका २ सय नमुनाको माटो परिक्षण गर्ने, गाउँपालिकाभित्र विभिन्न १८ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गर्ने, गाउँसभा मार्फत स्विकृत भएका योजनालाई कार्यान्वयन गर्न भदौ २५ गतेभित्रै सबै योजनाको उपभोत्ता समिति गठन गर्ने, विपन्न बर्गलाई सुधारिएको चुलो वितरण गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरि व्यवसाय मार्फत राजश्व बढाउनका लागि व्यवसाय दर्ता तथा नविकरण कार्यविधि स्विकृत गरेको बैठकले दर्ता नभएका व्यवसायलाई कात्तिकभित्र दर्ता गर्न र दर्ता भएकालाई असोजभित्र नविकरणको लागि आग्रह गरेको छ ।