कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकामा ८१ लाख खर्च
- ८ भाद्र २०७७, सोमबार
- धिरन खत्री
- 1049 पटक पढिएको
म्याग्दी, ८ भदौँ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ ।
कोरना भाईरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाद्धारा गरिएको खर्च सार्वजनिक कार्यक्रममा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले लगडाउनको कारण समस्या परेका गरिव, विपन्न र मजदुरलाई २९ लाख ४४ हजार ६१७ रुपैयाँ राहत वितरण गरिएको जानकारी दिए । उनले कोरना संक्रमितको उपचारका लागि १० सैयाको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधी उपकरण खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैया, क्वारेन्टाइनमा खाना खर्च १३ लाख ५८ हजार ७९८ रुपैया, उद्धारको लागि यातायात खर्चमा ३ लाख ५ हजार ३४९ रुपैयाँ र स्वयमसेवक खर्चमा २ लाख ७१ हजार ६०० रुपैया खर्च भएको बताए ।
नगरपालिकामा नगरपालिकाद्धारा १ करोड, जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट ३७ लाख ३० हजार ३७३ रुपैया गरि कुल १ करोड ३७ लाख ३० हजार ३७३ रुपैया जम्मा भएको थियो । कोरना कोषमा ५५ लाख ९७ हजार २६१ रुपैयाँ बाकी रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
त्यस्तै कोरना रोकथाम र नियन्त्रणमा नगरबासीलाई सुसुचित गराउन नगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयमसेवकको रुपमा परिचालन गरिने मेयर हरिकुमार श्रेष्ठ बताए । दुईग्रुपमा विभाजन गरेर शिक्षक तथा कर्मचारीलाई होल्डीङ सेन्टरमा परिचालन गरिने मेयर श्रेष्ठले जानकारी दिए ।
कोरना नियन्त्रणमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद दिदै मेयर श्रेष्ठले कोरना भाईरस सक्रंमणबाट बच्न र बचाउनमा सचेत रहन नगरबासीलाई आग्रह गरेका छन् । सार्वजनिकरण कार्यक्रममा उपमेयर सञ्जु बरुवालसहित वडा अध्यक्ष र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l